ह्यारी की प्यारी पोखरामा

पोखरा । माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा “ह्यारी की प्यारी” टोली यतिबेला राजधानी बाहिर प्रोमोशन टुरमा छ।

आइतबारमात्र पोखरामा पत्रकारहरुसँग साक्षत्कार गर्दै टोलीले फरकधारको सिनेमा भएको दाबी गर्यो। निर्देशक डा.कपिल रिजालले सिनेमा नेपाली परिवेशलाई समेट्ने गरी बनेको अभिव्यक्ति दिए । उनले भने, ‘ह्यारी की प्यारी नेपाली कल्चरलाई समेट्ने सिनेमा हो । नेपालको संस्कृतिलाई सिनेमा मार्फत अन्तराष्ट्रिय स्थरमा प्रचारप्रसार गर्न मदत पुग्ने विश्वास लिएका छौं।’

ह्यारी की प्यारी सिनेमालाई नेपाली, बंगाली, हिन्दी, मराठी भाषामा डबिङ गरिएको जानकारी उनले गराएका छन् । ३० वर्षदेखि युकेमा डेन्टिसको डाक्टरको कर्म गर्दै आएका रिजालको सिनेमा प्रतिको लगाव सानैदेखि भएकाले पनि उनलाई यसतर्फ आकर्षण बढ्यो

उसो त उनका बुवा डा. भोला रिजालले पनि नेपाली सिनेमा क्षेत्रमा काम गरिसकेका छन् । लक्ष्मी पूजा, साथी, पाखे लगायतका सिनेमा भोला रिजालले नै लेखेका हुन्।

बुवा सिनेमा क्षेत्रमा काम गरेको भएर होला कपिललाई पनि सिनेमा बनाउने रहर थियो । जसलाई अहिले आएर उनले पूरा गर्न पाएका छन् । कपिल भन्छन्, “मेरो बुवाले नेपालका पूराना रुचाइएका लक्ष्मी पूजा, साथी, पाखे लगायतका सिनेमाहरुमा कथा लेख्नुभयो । मलाई पनि पहिलेदेखि नै सिनेमा क्षेत्रमा काम गर्न मन थियो । जुन अहिले पूरा भएको छ।’

यसअघि कपिलले म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् । सिनेमा ‘ह्यारी की प्यारी’ को कन्सेप्ट कोभिडको समयमा आएको उनले बताए । दुई फरक परिवेशको मान्छेलाई जोड्ने कथा भएकाले पनि ‘ह्यारी की प्यारी’ निर्देशन गर्न आफु तयार रहेको उनले उल्लेख गरे।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सिनेमा राम्रो बनेको अभिव्यक्ति दिइन् । दर्शकले सिनेमामा आफ्नो भूमिकालाई रुचाउने भनाई उनको छ । नेपाली मौलिकतालाई आधुनिक तवरले प्रस्तुत गरिएको भएर पनि दर्शकलाई सिनेमाको कथा मन पर्नेमा उनी विश्वस्त देखिन्छिन्।

साम्राज्ञी भन्छिन्,‘सिनेमा राम्रो टिमका कारण चल्ने हो । सिनेमाको कन्टेन्टका आधारमा नै सफलता मिल्ने गर्छ । सिनेमा राम्रो भयो भने त्यसको जस सबै टीमलाई हुन्छ । यदि राम्रो चलेन भने त्यसको सम्पूर्ण अपजस एक आर्टिस्टले मात्र खेप्नुपर्छ । तर ह्यारी की प्यारी सिनेमा त्यस्तो छैन । पारिवारिक सिनेमा भएकाले सफलता अवश्य मिल्छ । सबैलाई माघ २० बाट प्रदर्शन हुने हाम्रो सिनेमा हेर्न आग्रह गर्दछु।’

कलाकार जितु नेपालले हाँस्यव्यङ्ग्य कथावस्तुमा आधारित सिनेमामा आफ्नो भूमिकालाई दर्शकले फरक तरिकाले हेर्न पाउने बताए । उनका अनुसार ‘ह्यारी की प्यारी’ मा कमेडी पनि फरकधारको कमेडी छ । जसमा पात्र भन्दा पनि वातावरणले दर्शकलाई हसाउँछ । उनले सिनेमाको कथावस्तुको टेस्ट बदल्न खोजेको अभिव्यक्ति दिए ।

पर्वतको भुकदेउरालीमा ४५ दिनसम्म छायाँकन गरिएको सिनेमामा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय रहेको छ । बिआर प्रोडक्सनको प्रस्तुती सिनेमाको कथा सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यु निराबी र डा.कपिल रिजालले लेखका हुन्।

सिनेमाका गीतमा थोमस एण्ड्रियुज, देवनजली जोशी, सौरभ दास, मिना निरौला, सपन कुमार राईको स्वर रहेको छ।

फोटोः सुदर्शन रञ्जित





Comments

comments

66653