कन्स्ट्रक्सन साइटमा दुर्घटनामा परेर हङकङमा एक नेपालीको मृत्यु

एचकेनेपाल डट कम –

हङकङ, १६ मे। कन्स्ट्रक्सन साइटमा दुर्घटनामा परेर हङकङमा एक जना नेपाली कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४९ वर्षीय राई थरका नेपाली पुरुष कामदार रहेका छन्। स्थानीय मिडियाका अनुसार मंगलवार विहान निर्माण स्थलमा लिफ्ट ट्रली निकाल्ने क्रममा उनलाई ठूलो फोर्कलिफ्टले पछाडिबाट ठक्कर दिएको थियो।

परिवार तथा आफन्तद्वारा श्रद्धाञ्जली अर्पण गरिदै।

काउलुन सिटी पियर नजिकै न्यू पियर स्ट्रिटस्थित सुरुङ निर्माण स्थलमा भएको सो दुर्घटनामा परी छातीमा गम्भीर चोट लागेका पीडित विष्णु राईलाई एम्बुलेन्सबाट क्वीन एलिजाबेथ अस्पताल लगिएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

समाचारका अनुसार मृतकले Bouygues Travaux Publics मा फोरम्यानको रूपमा काम गर्थे, जसको मासिक आम्दानी करिब ४०,००० हङकङ डलर थियो।

नेपालमा ताप्लेजुङ घर भएका राई, उनकी श्रीमती र दुई छोराछोरीसंग हङकङमा युन लङको हप चोई स्ट्रिटमा बस्दै आएका थिए।

मृतककी जेठी छोरी हाल उच्च डिप्लोमा पढ्दै छिन् भने छोरा फारम ५ मा अध्ययनरत रहेको बताइएको छ। दुर्घटनापछि मृतकले काम गर्ने कम्पनीले परिवारका सदस्यलाई सम्पर्क गरेको थियो।

मृतक परिवारको कमाई गर्ने मुख्य व्यक्ति भएको जसले परिवारलाई अनाथ र असहाय बनाएर उनको अचानक निधन भएकोमा दुःख व्यक्त गरिएको छ।

निर्माणाधीन सुरुङमा पावरबाट सञ्चालित एलिभिङ वर्क प्लेटफर्म सार्न सहयोग गर्ने क्रममा फोर्क लिफ्ट ट्रकले नेपाली पुरुष कामदार दुर्घटनामा परेको श्रम विभागले जनाएको छ। पछि अस्पतालमा राईलाई मृत घोषणा गरिएको थियो।

दुर्घटनापछि श्रम विभागले अनुसन्धानका लागि दुर्घटनास्थलमा कर्मचारी पठाएको छ र फोर्क लिफ्ट ट्रकको प्रयोग रोक्न र विद्युतबाट चल्ने लिफ्टिङ कार्यलाई सार्न सम्बन्धित ठेकेदारलाई ‘अस्थायी निलम्बनको सूचना’ जारी गरेको छ।

निर्माण स्थलमा सम्वन्धित ठेकेदारले जोखिम हटाउनको लागि कदम चालेको प्रिस्क्रिप्शन सन्तुष्ट नभएसम्म काम सुचारु नहुने श्रम विभागले जनाएको छ।

श्रम विभागका प्रवक्ताले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ, जिम्मेवार व्यक्तिहरूको कानूनी जिम्मेवारी पत्ता लगाउन र सुधारका उपायहरू अपनाउंन प्रस्ताव गरेको छ। छानबिनका क्रममा कुनै उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाएका छन्।

हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारले सेन्ट्रल काउलुन रुट (CKR) सुरुङ निर्माणको लागि Bouygues Travaux Publics लाई ठेक्का दिएको छ, जसमा याउ मा तेईलाई जोड्ने ट्वीन ट्युब सुरुङको २.८ किलोमिटर खण्डको निर्माण समावेश छ। यो आयोजना सन् २०२५ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

फोटोः एचके अन सीसी र एचके जिरो वान





Comments

comments

73842