उन्नाइस असार राति साढे १० बजे पोखराबाट फोन आयो, मेरा छोरा अनिमेष करिब ४५ मिनेटअगाडि केटीसाथीको घरको छतबाट खस्यो भन्ने सन्देश थियो। म रातारात पोखरा पुगेँ, अरूको ज्यान बचाउने भनेर भर्खरै डाक्टर भएको मेरा छोरा आफै अकालमा मृत्युको सिकार भइसकेको थियो।
छोराका साथी प्रतिसा र आयुषलाई हामी पनि चिन्थ्यौँ, उनीहरूको परिवारसँग पनि हाम्रो आउजाउ हुन्थ्यो। घटनाको समयमा मेरो छोराबाहेक त्यहाँ आयुष र प्रतिसा मात्रै थिए। त्यसैले उनीहरूमाथि अनुसन्धान हुनुपर्ने थियो, आयुष प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा भएकाले हुन सक्छ, प्रहरीले हचुवाकै भरमा दुर्घटना भनिदियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
म भने सत्यतथ्य जेसुकै भए पनि अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा थिएँ। म आफै पनि डाक्टर भएको र विभिन्न अनुसन्धानमा समेत सहभागी भएकाले छोराको शव र पोस्टमार्टम रिपोर्ट हेर्दा दुर्घटना मात्र हो भन्न सकिनँ। त्यसैले न्यायिक छानबिन गर्नुपर्छ भन्दै तत्कालै जाहेरी दिन खोजे । प्रहरीले लिन मानेन।
लामो विवाद गर्ने अवस्था थिएन। म छोराको शव लिएर गाउँ (महोत्तरी) गएँ। किरियाकर्म सकेपछि काठमाडौं आएँ। न्यायिक छानबिन हुनुपर्छ भन्ने मागबाट म पछि हट्न सकिनँ। त्यसैले ५ साउनमा वकिलमार्फत प्रहरी र प्रशासन कार्यालयमा पुन: जाहेरी दर्ता गराउन खोजेँ। यसपटक पनि लिन मानेन।
प्रहरी र प्रशासनले जाहेरी नलिएपछि मैले १० साउनमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संसद् सचिवालय, मुख्यसचिवको कार्यालय, महान्यायाधिवक्ताको कार्यालयमा समेत निवेदन दर्ता गराएँ। ११ साउनमा राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गराएँ। मेरो माग थियो, ‘त्यो दुर्घटना मात्र हो भन्ने म मान्न सक्दिनँ, त्यसैले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने काम होस्।’
तर, आइजिपीका छोराको नाम मुछिएकै कारण उजुरीसमेत लिन नमान्नु अख्तियारको दुरुपयोग पनि हो। महानिरीक्षकले अधिकारको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गरेँ। तर, कतैबाट पनि ‘रेस्पोन्स’ भएन।