बेलायतका पहिलो नेपाली महिला मेयर गुरुङ सम्मानित…

भूमिराज राई / एचकेनेपाल डट कम –

नीना गुरुङ (मञ्जु) को चर्चा यतिबेला चुलिएको छ। मेडवे काउन्सिलको सय वर्षे इतिहासमा गत महिना उनी नेपालीमूलको पहिलो महिला मेयर बन्न सफल भएकी थिइन्। यो उपलब्धिसँगै उनलाई विभिन्न संघसंस्थाको यतिखेर बधाई तथा सम्मानको ओइरो लाग्ने गरेको छ।

यसैक्रममा मेडवे काउन्सिलका नवनिर्वाचित प्रतिनिधिहरूलाई सम्मान गर्न रोचेस्टर क्याथेड्रलले आइतबार विशेष समर्पण सेवाको आयोजना गरेको थियो।

समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले निनाको उपलब्धिको प्रशंसा गर्दै बधाई ज्ञापन गरे।

कार्यक्रममा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङले पनि मेयरको सफल कार्यकालको कामना गर्दै बधाई दिए।

बौद्ध धर्मावलम्बीसमेत रहेकी नीना गुरुङले मेयर निर्वाचित हुन पाउँदा जिम्मेवारी थपिएको बताइन्। उनले धेरै काम गर्नमा आफ्नो ध्यान केन्द्रि गर्ने बताउँदै कुराभन्दा काम बढी गर्ने प्रतिबद्धता जनाइन् । मेडवेमा ‘समानता र विविधता प्रवद्र्धन’ गर्न आफूले पहल गर्ने उनको भनाइ थियो । सेवापछि गिल्डहलमा चियापान कार्यक्रममा उपस्थित सम्पूर्णलाई आभार व्यक्त गरिन्।

समारोहमा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, रिभान चौर नाथु प्रल्हाद पैगीलामा परिवार यूकेका अध्यक्ष चकबहादुर गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ, विश्व रेकर्ड होल्डर पर्वतारोही हरि बुढा मगर, लन्डन हन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ, रोयल बरो अफ ग्रीनवीचका डेप्युटी मेयर जित रानाभाट, रसमोर बोरो काउन्सिलका काउन्सिलर धनबहादुर सार्की, नेपाली पहिलो काउन्सिलर स्व. गम गुरुङकी कान्छी छोरी, मेयरका बाबुआमा, स्थानीय गोर्खा नेपाली कम्युनिटी मेडवेका सदस्यहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

मेडवे काउन्सिल र बेलायतमा रहेका नेपाली समुदायका लागि समर्पण सेवा नयाँ ठाउँको संस्कार, चलन र पद्दति हेर्ने अनि सिक्ने ऐतिहासिक समारोह थियो।

नवनिर्वाचित मेयर गुरुङ नेपालको पर्यटकीय गाउँ धम्पुसकी हुन्।





Comments

comments

77153