Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मेरो छाला मेरो होइन…

काठमाडौं, अनुहारबाहेक सबै शरीर जलेको छ, जलेको शरीर बेलाबेलामा चर्कंदा असह्य पीडामा पुग्छन् उनी। त्यही पीडाबीच पनि बाँच्न सफल आफ्नो शरीरतिर हेर्दै मुस्काउन थाल्छन्।


फाईल फोटो

उनको शरीरको छाला उनको हैन। कीर्तिपुर अस्पतालको स्किन बैंकमा पहिलोपटक स्टोर गरेर राखिएको मृत व्यक्तिको छालाले नयाँ जीवन पाएका उनी अब त बाँच्छु भन्नेमा विश्वस्त देखिन्छन्।वैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर हल्लिँदा अगेनामाथि रहेको सल्लाको खोटो खसेपछि आगलागी भएर जलेका दैलेख चामुण्डाका टीकाराम चालिसेलाई उपचारका लागि नेपालगन्ज हुँदै लखनउ पुर्‍याइएको थियो।

दुई लाख रुपैयाँ खर्च गर्दा पनि निको नभएपछि उनको परिवारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइपुराए। त्यहाँबाट पनि भूकम्पपीडित उनलाई जलेको बिरामीको निःशुल्क र राम्रो उपचार हुने भन्दै कीर्तिपुर अस्पताल रेफर गरियो। त्यहाँ पुग्दा जलेको छालाले संक्रमण फैलिएर जीवनमरणको दोसाँधमा चारवटा अस्पताल धाइसकेका चालिसे भाग्यमानी साबित भए।

अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई नेतृत्वको टोलीको १८ महिनाको अथक प्रयासपछि स्किन बैंकमा जम्मा गरिएको मृत व्यक्तिको छालाले उनलाई नयाँ जीवन दियो। त्यो छाला केही दिनअघि आत्महत्या गरेका एक न्यायाधीशको चाहनामा र परिवारको सहमतिमा उनको मृत शरीरबाट निकालेर स्टोर गरिएको थियो।

‘स्वर्गमा बास होस्, ती मान्छेको जसको छालाले मैले फेरि संसार देख्न पाएँ,’ यसो भन्दा उनको आँखामा हर्षका आँसु टिल्पिलाउँदै थियो। बुढ्यौलीले चाउरी परेका दुई हात जोड्दै डा. राईप्रति आफ्नो जीवन बचाएकोमा अनुग्रहित भए उनी।

त्यस्तै मृत व्यक्तिकै छालालाई आफ्नो छाला बनाएर बाँच्न सफल अर्को एउटा शरीर विपरीत दिशामा रहेको शय्यामा तंग्रिँदै थियो। धादिङकी सरिता धिताललाई सायद १७ वर्षे जवानीमै यो ससार छोड्नुपर्ने हुन्थ्यो, उक्त अस्पतालको स्किन बैंकमा छाला स्टोर नगरेको भए।

‘तिम्रो जीवन अर्काको छालाले बाँच्यो, थाहा छ? ‘ भन्ने प्रश्नमा पहिले अवाक् भइन् उनी, अनि थोरै घोत्लिएर भनिन्, ‘हो डाक्टरले पनि भन्नुभएको थियो।’ कस्तो लाग्दैछ तिमीलाई भन्ने अर्को प्रश्नमा पोलिएर दागै दाग भएको अनुहार उज्यालो पार्दै उनले भनिन्, ‘अब त म जे पनि गर्न सक्छु।’ अन्नपूर्णपोष्टमा समाचार छ।

चिया पकाउँदै गर्दा आगलागी भएर जलेकी उनलाई फेरि यसरी कुरा गर्न सक्छु भन्ने लागेकै थिएन। तत्कालका लागि जीवन बचाएको अर्काको छालालाई उनको आफ्नै छाला उम्रिएर विस्थापित गर्दैगर्दा चिलाइरहेको शरीर थोरै शान्त पार्दै जबाफ दिँदै थिइन् सरिता।

संजोग पनि कस्तो ७० वर्षको पाको र १७ वर्ष जवान, यी दुई शरीरले एउटै मृत व्यक्तिको छाला दान पाएका थिए।मृत व्यक्तिको छालाले जलेर मृत्युको मुखमा पुगेका मानिसको जीवन बाँच्छ भन्ने नेपालमा धेरैलाई थाहा छैन।

मृत शरीरको छालालाई पाँच वर्षसम्म टिकाइराखेर आवश्यकताअनुसार जलेका बिरामीमा प्रत्यारोपण गरी उनीहरूलाई बचाउन सकिन्छ भन्ने त झन् थाहा हुने कुरै भएन। यस्तो छाला टिकाइराख्ने आवश्यक अत्याधुनिक उपकरणसहितको स्किन बैंक खोलिएको छ भन्ने पनि कमैलाई जानकारी हुन सक्छ। तर नेपालमा यो सम्भव भइसकेको छ।





Comments

comments

Leave a Reply

7786