आर्थिक पारदर्शितामा ध्यान दिए देशले कोल्टे फेर्नेः मन्त्री गुरुङ

न्यूयोर्क। नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङको स्वागत र सम्मानमा एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले हाम्रो मुलुक नेपालको विकास नहुनुमा भ्रष्टाचार प्रमुख कारण भएको बताउॅदै सबैले आर्थिक पारदर्शितामा ध्यान दिए देशले चाँडै कोल्टे फेर्ने बताए।

गैरआवासीय नेपालीका लागि नागरिकता विधयक पारित भैसकेकोले अप्ठ्यारो फुकाउन कानुन बनिरहेको कुरा सुनाउदै मन्त्री गुरुङले आफू कानुन मन्त्री भएको वेलामा देश र जनताका हितका निमित्त आवश्यक विधेयकहरू अगाडि बढाउने समेत बताए।

बिभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरू, पत्रकार , बुद्धिजीवी, कलाकारलगायत आम न्यूयोर्कवासी नेपाली जनसमुदायको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक पूर्व संयोजक कानुनविद तथा समितिका कानुनी सल्लाहकार खगेन्द्र क्षेत्रीले गरेका थिए।





Comments

comments

81701