कागबेनीको बाढी : २९ घरमा पूर्ण क्षति…

म्याग्दी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पुर्याएको भौतिक संरचनाको आज प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापन गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतबार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण सङ्कलन र घरवास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए । “पूर्ण क्षति भएको घर बाढीले बगाउने र लडाउने गरेको छ । बस्नै नमिल्ने बनाएको छ”, उनले भने, “१३ वटा घरभित्र बाढी पसेर आंशिक क्षति गरेको छ । गोठका गाईवस्तु बाढीमा पुरिएका छन्।”

गाउँपालिकाको केन्द्र र धार्मिकस्थल रहेको कागबेनीमा तिरिखोला थुनिएर कागखोलामा आएको बाढी आइतबार राति ८ बजेको समयमा बस्तीभित्र पसेको थियो । पूर्वसूचना पाएका कारण स्थानीयवासीले भागेर ज्यान बचाए पनि ठूलो धनमालको नोक्सानी भएको अध्यक्ष गुरुङले बताए।

गाउँको बीच भाग भएर बस्ने कागखोलामा मान्छे र मोटरसाइकल वारपार गर्न बनाइएको तीन वटा पक्की, एउटा झोलुङ्गे र एउटा काठको पुल ध्वस्त बनाएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागखोलामा निर्माणाधीन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्क विच्छेद भएको छ।

कागबेनी प्रहरी चौकी, वडा कार्यालय, धर्मशाला, श्रद्धास्थल, एउटा गुम्बा, एउटा मन्दिर, आमा समूहको स्नान गृहसहित र मिलन युवा क्लबको भवन, दुई तले हटरुम भवन पूर्णरूपमा क्षति भएको छ । गुम्बा नजिकै राखिएका दुई गाडी, ३० वटा स्कुटर र मोटरसाइकल बाढीले पुरेको र बगाएको अध्यक्ष गुरुङले बताए।

नेपाल इन्भेष्टमेन्ट, मेघा र प्रभु बैंक लिमिटेडको कार्यालय भएको भवनमा पनि बाढी पसेर क्षति पुगेको छ । बैंक भएको घरको सुरक्षाका लागि प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालले जनाएको छ । सामुदायिक भवन र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । कक्षा कोठा, खेलमैदानमा बाढी थुप्रिएकाले पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनशान्ति माविका शिक्षक मनविर किसानले बताए ।

कागबेनीमा विद्युत् अवरुद्ध र खानेपानीको अभाव भएको छ । नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्यावियन पर्खाल बाढीले बगाएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरवास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिए।

भवन बाढीले क्षति गरेपछि कागबेनी प्रहरी चौकीको कार्यालय वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रशासकीय भवनमा सारिएको छ । गाउँपालिकाको र अर्को सामुदायिक भवनमा आफन्त कहाँ आश्रय लिन नसक्ने ५० जनालाई व्यवस्थापन गरिएको प्रजिअ केसीले बताए।

उनीहरूलाई खानेबस्ने व्यवस्था गाउँपालिकाले गरेको छ । साठीभन्दा बढी मजदुरलाई जोमसोममा घरपझोङ गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएर राखेको छ । बस्तीभित्र बाढी पसेर घरहरू हिलाम्मे भएका छन् । बाढीले नभत्काएका घरभित्र पसेको बाढी फालेर सफा गर्नुपर्ने छ।

जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भत्किएका र जोखिममा रहेका घरका सामान निकालेर सुरक्षित ठाउँमा लैजान सहयोग गरेका छन् । नेपाली सेनाले काठको अस्थायी पुल हालेर उपल्लो पैदल हिँडेर खोला वारपार गर्ने व्यवस्था मिलाएको छ।

जोमसोम–कागबेनी सडकअन्तर्गत पाण्डाखोलामा आएको बाढीले उद्धार र राहत व्यवस्थापनमा चुनौती सिर्जना गरेको छ । गाउँपालिकाका अध्यक्ष गुरुङले राहत वितरणलाई एकद्वार प्रणाली लागू गर्न मङ्गलबारको विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव गर्ने बताए । मुस्ताङमा शनिबार र आइतबार लगातार पानी परेको थियो।

स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालि जस्तो धेरै र ठूलो वर्षा भएको थिएन । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ।

रासस





Comments

comments

82425