Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन्।

कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । कागे अष्टमीसमेत भनिने यस मेलामा देशका विभिन्न भागबाट भक्तजन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गर्छन्।

भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी पुगेर पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ।

श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ।

मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरसमेतको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको हो । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । आजदेखि सुरु भएको तीन दिने महोत्सव आइतबारसम्म चल्ने उनले बताए । कागेश्वरी मन्दिर क्षेत्रमा फागुन महिनामा पनि महोत्सव आयोजना हुन्छ । फागुन र भाद्र शुक्ल अष्टमीमा हुने महोत्सवका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनसमेतको प्रदर्शन गरिन्छ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन्।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस अवसरमा आज हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि पूजा, आराधनाका लागि भक्तजनको भीड लागेको थियो। रासस





Comments

comments

85138