गोरखाबाट पठाइयो फूलपाती

गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८:०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन्।

फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ।

गोरखा दरबारको दसैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उनले बताए।

गोरखा दरबारको दसैंघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । दरबारस्थित दसैंघरबाट बाजागाजासहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए।

गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायतले दरबारबाट फूलपातीको बिदाइ गरेर पठाएका हुन्।

यसैबीच भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा विधिवतरूपमा बडादसैं सुरु भएको छ। आज बिहान ८ः२४ बजेको शुभसाइतमा तलेजुलाई मूलघरबाट मूलचोकमा विराजमान गराई दसैंघरमा भित्र्याइएको हो ।

राजप्रतिनिधिका रूपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्गलगायतका विभिन्न धार्मक हतियारसहित लामबद्ध भएर विषेश प्रकारको पोशाक र विभिन्न बहुरत्न गहना पहिरिएर तलेजुको मूलमूर्तिलाई बोकेर १९ जनाले तलेजुलाई विधिवतरूपमा दसैंघर पुर्‍याइएको हो। आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए।

रातो र सेता कपडाको विशेष प्रकारको पोशाक, पछ्यौरा र पगरी लगाएका तलेजुका पुजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैंघर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो। विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दसैंघरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिए। फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिइन्छ।

तलेजुलाई दसैंघर भित्र्याउँदा जिल्लाका सरकारी निकायका प्रमुख र सर्वसाधारणको भीड लागेको थियो। आजको दिन तलेजुको दर्शन गरेमा असिम पुण्य प्राप्त हुने जनविश्वास रहेकाले तलेजुको मूलचोकमा सर्वसाधारण उभिएर तलेजुको दर्शन गर्दै दसैंघरमा भित्र्याएको हेरिरहेका थिए भने सरकारी निकायका प्रमुख एवं उनका परिवारलाई भने भिआइपी कक्षमा प्रवेश गराएर अवलोकन गराइएको थियो। दसैँघर भित्र्याएपछि मूल नाइके जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गरेका थिए।

रासस





Comments

comments

87488