भारत र बेलायतका राजदूतसंग नेपाल रिसायो, स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं, सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा जारी भारत र बेलायतको संयुक्त वक्तव्यमा नेपालको संविधान निर्माणबारे उल्लेख भएकोमा आपत्ति जनाउँदै काठमाडौंस्थित भारतीय र बेलायती राजदूतसँग जानकारी माग्ने भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले संयुक्त वक्तव्यबारे बेलायत र भारतसँग जानकारी मागिने बताए। परराष्ट्र मन्त्रालयका अर्का एक अधिकारीले संविधान निर्माण नेपालको आन्तरिक विषय भएकाले बेलायत र भारतका प्रधानमन्त्रीले वक्तव्यमार्फत त्यसबारे बोल्नु हेपाहा प्रवृत्ति भएको टिप्पणी गरे।

‘भारतीय प्रधानमन्त्रीको भ्रमणपछि वक्तव्यमा भारत र बेलायतका द्विपक्षीय मुद्दाबाहेक नेपालका बारेमा बोलिरहनुपर्ने आवश्यक थिएन,’ ती अधिकारीले भने, ‘हामीजस्ता सार्वभौम मुलुकको आन्तरिक मामिला उल्लेख गरेर दुवै मुलुकले हेपाहा प्रवृत्ति देखाएका छन्।’

उनले यस विषयमा कूटनीतिक च्यानलमार्फत भारत र बेलायत दुवै देशसँग आपत्ति जनाइने बताए।’भारत या बेलायतभित्रका आन्तरिक राजनीतिक मामिलाका विषयमा अन्य कुनै अलग दुई देशले संयुक्त वक्तव्यमा उल्लेख गरे के हुन्छ?’ ती अधिकारीले भने।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले केही दिनभित्रै बेलायती र भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नेछ। त्यस्तै लन्डन र दिल्लीस्थित नेपाली दूतावासमार्फत समेत बेलायत र भारतसमक्ष नेपाल सरकारले उक्त वक्तव्यमाथि आपत्ति जनाउने भएको छ। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9589