हे ईश्वर ! मलाई प्रधानमन्त्री बनाइदेऊ (निबन्ध व्यङग्य) – नरेन्द्रराज प्रसाई


नरेन्द्रराज प्रसाई –

•••••
श्री ३ जुद्धशमशेर महाराजका ज्योतिषीहरूले भनेछन्- “राष्ट्रप्राण सरकार ! प्रभु सरकारको गाथमा धेरै ठुलो खड्गो आइपरेको छ । तर यस खड्गोलाई हटाउने उपाय पनि छ ।” जुद्धशमशेरले आफ्ना ज्योतिषीहरूसँग खड्गो टार्ने उपाय सोधेछन् । अनि ज्योतिषीहरूले श्री ३ का जुनाफमा उपाय विन्ती चढाएछन्; “करूणानिधान सरकार ! शत्रुहरूले प्रभुको गाली बेइजत गर्नुपर्छ । यदि शत्रुले मौसुफ सरकारका जुनाफमा असह्य गालीगलौच गरे भने मात्र यो खड्को टर्छ सरकार ! तर सरकारका पाउमा यसरी गाली, बेइजत गर्ने कुन शत्रुको हिम्मत हुन्छ होला र ? त्यसैले सरकार ! केही दलितहरूलाई अघाउञ्जेल जाँड, रक्सी खुवाइबक्सन हुकुम होस् । रक्सी खाएर उनीहरू मज्जाले मात्तिने छन् । त्यसपछि सरकारकै बाहुलीबाट उनीहरूका गालैगालामा पिटिबक्सियोस् । अनि उनीहरूले सरकारका गाथमा अशिष्ट, फोहोर र निकृष्ट गाली, गलौच गर्नेछन् । सरकार उपरको नराम्रो ग्रह टार्ने यो एउटा शक्तिशाली उपाय हो; सरकार ! जो हुकुम, जो निगाह !”

लेखक

ज्योतिषीहरूको सल्लाहमा शनिवारको दिन पारेर महाराज जुद्धशमशेरले केही दलितलाई रक्सी खान हुकुम दिएछन् । उनीहरू मात्तिएपछि जुद्धशमशेर घोडा चढेर त्यहाँ पुगेछन् । अनि श्री ३ ले ती जँड्याहाहरूका गाला चड्काएछन् । कुटाई खाएपछि उनीहरूले श्री ३ सरकारलाई मनपरी गाली गरेछन् । गाली पनि कति निम्नकोटिको भने त्यस्तो गाली जुद्धशमशेरले सपनामा पनि सुनेका थिएनन् रे !

केही समयमा जँड्याहाहरूलाई रक्सीले छाडेछ । उनीहरूका सामुन्ने जुद्धशमशेर महाराज थिए । अगाडी जुद्धशमशेर महाराजलाई देखेपछि उनीहरूको सातो गएछ । त्यस घडी बाघको मुखमा बाख्रो उभिएको उनीहरूमा अनुभूत भैरह्यो । अनि ति जँड्याहाहरू श्री ३ सरकारसँग माफ मागेर रून थालेछन् । त्यसपछि जुद्धशमशेरले आफ्नो खड्गो कटाए बापत उनीहरूलाई जनही एक-एक हजार रूपियाँ बक्सिस दिएर आफू त्यहाँबाट हिंडेछन् ।
•••
पञ्चायत व्यवस्थाको मुख्य धर्म बाहेक “वीर वी.पी. मुर्दावाद!” पनि एउटा गतिलो विषयसूची थियो । कतिसम्म भने वी.पी. सवार शाही नेपाल वायुसेवा निगमलाई लाठी, मुङ्ग्री र कालो झन्डा सहितको जुलुसले जहाजलाई अवतरण गर्न समेत दिइँदैन थियो । आखिर उनका शत्रुहरूको तिब्र विरोधका कारण नेपालमा वी.पी.पकोइरालाको नै मात्र जयजयकार हुन थाल्यो । त्यतिमात्र होइन वी.पी.कै शक्तिबाट पञ्चायत व्यवस्थाले नै विदा लिनु परेको थियो । त्यसपछि वी.पी.कै चाहनाको बहुदलीय व्यवस्था आयो । अनि पहिला “वीर वी.पी.कोइराला मुर्दावाद” भन्नेहरू नै पनि प्रजातन्त्रका ठेक्दारमा देखिन थाले ।
***
बहुदलीय व्यवस्था आएपछि यो मुलुकका हरेक शासकले प्रचण्ड केन्द्रित विरोध गरिरह्यो । साथै पत्रपत्रिकाले समेत प्रचण्डका बारे भएका नभएका नानाभाती समाचार नलेखी हुँदैन थियो । त्यतिमात्र पनि होइन, राज्य शक्ति ओइरिएर प्रचण्डकै विरोधमा प्राय: समय रित्याउने गर्थ्यो । अन्तत: आफ्ना शत्रुहरूकै करामतले प्रचण्ड नै नेपालका भालेमा स्थापित भए । त्यसपछि प्रचण्डका त्यस बेलाका तिनै शत्रुहरूले नै प्रचण्डकै सेरोफेरोमा धुपबाती घुमाउन थाले ।

प्रचण्डको मूल्य दिन दुई गुना र रात चार गुनाले बढ्न थाल्यो । कतिसम्मभने उनी नभई काङ्ग्रेस र एमालेको सास फेर्ने नलीमा खिया परेर बुझिने सम्भावना समेत देखिन थाल्यो । तर पनि लाज पचाउनका लागि उनीहरू घरिघरि प्रचण्डको विरोध गरि टोपल्थे पनि । तर जसले जे भने पनि र माने पनि अनि नमाने पनि शत्रुहरूकै सशक्त विरोधका कारण यो देशको सर्वशक्तिमान अथवा भनौं महापुरूषमा प्रचण्ड नै स्थापित भई छाडे । वास्तवमा जनयुद्धमा उनले जजसलाई सखाप पारेका थिए, ति ति दलका उनी अघोषित श्रीपोस बने ।
~~~
शत्रुको कति ठूलो शक्ति हुँदो रहेछ त ! शत्रु भनेका मल हुन् । जरामा मल पर्यो भने मात्र बालिनाली सप्रने हो । शत्रु नभए कोही पनि उँभो लागेको इतिहासै पनि छैन । त्यसैले शत्रुलाई शक्तिका रूपमा ग्रहण गर्नु नै पर्छ; तब मात्र निकासको दैलो उघ्रिन्छ ।
<><><>
नेपाली परिवेशमा रातोदिन काम गर्दै जाँदा मैले पनि धेरै शत्रु कमएको छु । साँच्चै हो; मेरा शत्रुहरू यति नभएका भए म काम न काजको हुन्थें । हुँदाहुँदै शत्रुहरूले नै मेरो नाउँ लेखेर उनीहरूका टाउकोमा फेटा बाँधेका हुन्छन् । उनीहरूले नै मेरा नाउँका व्यानर शिरमा राखेर नगर परिक्रमा गरिरहेका हुन्छन् । अनि उनीहरूकै फेसबुकभरि मेरा अनुहारहरू सल्वलाई रहेका हुन्छन् । उनीहरूले मेरै लागि घाम, पानी र झरी पनि भन्दैनन् । उनीहरू मेरा खातिर हरेक दिन भोक, भोकै सुत्न पनि सक्छन् । साँच्चै हो; उनीहरूकै कारण म ज्यूँदो छु र मेरै लागि उनीहरू तैनाथ छन् । वास्तवमा ज्यूँदाहरूकै शरीरमा न जुम्रा हुन्छन् । मनैदेखि भन्ने हो भने पनि अहिलेसम्म कुन मित्रले मेरो नाउँ लेखेर कालो छाता ओडेको इतिहास छ र ? मेरा कुन मित्रले सेता अक्षरले कालो कपडामा नाउँ लेखेर आफ्नो निधारमा टाँसेको छ र ? अनि मेरा कुन मित्रले आफ्नो नाङ्गो शरीरभरि मेरो नाउँले भरेका छन् र ? त्यसैले आज म जति चल्तीमा आएको छु तिनै वीर मेरा शत्रुका कारण जोडिएर मेरो यो स्थान निर्माण भएको छ । त्यसैले म मेरा शत्रुहरूसँग अनुगृहीत छु । राहु लाग्यो भनेर ग्रहलाई नै उखेल्नु हुँदैन भैरवको पूजा गर्न जान्नु पर्छ भन्ने मेरो मान्यता हो । त्यसैले म आज मेरो यात्रामा सफल पनि छु । मदेखि नथर्केका भए हजारौं स्याल मेरै विरोधमा कुर्लिन्थे र ? त्यतिमात्र कहाँ हो र भोलि म प्रधानमन्त्री भएपछि ती मेरा शत्रुहरू नै तँ छाड र मछाड गरेर मेरै गुलाममा झुम्मिने गर्छन् । अनि त्यस बेला आजको जुलुस, भोकतीर्खा र हण्डर कसले सम्झिन्छ र ? यसबारे गोविन्द भट्टले लेखेकै पनि थिए “यो नेपाल हो र यहाँ यस्तै हुन्छ ।”
@
हे ईश्वर ! म देशका लागि समर्पित भएर रातोदिन लागिपरेको छु । मैले हरेक पलहरूमा भ्रष्टाचाररहित देशप्रति नै मात्र चिन्तन गरिरहेको छु । एकातिर मेरो क्षमता, निष्ठा त्याग र अर्कोतिर मेरा शत्रुको तेजका कारण अब मलाई प्रधानमन्त्रीका कुर्सीमा नै पुर्याई देऊ । त्यसपछि म मेरो जोश, जाँगर र समर्पणलाई राष्ट्र निमार्णको महायज्ञमा समाहित गर्नेछु । राष्ट्रको चौतर्फी विकास र जनताको सुक्ख, समृद्धिका लागि यो मुलुकमा मेरै आवश्यक्ता खट्किरहेको छ । त्यसैले अब मैले प्रधानमन्त्री हुनु नै परेको छ ।

हे ईश्वर! मेरा शत्रुहरू मार्फत मेरो प्रधानमन्त्रित्व चाँडै स्थापित गराई देऊ ।





Comments

comments

Trending Now : घुस लिनेमा इन्जिनियर धेरै
13635