बडादशैं | आज कोजागत पूर्णिमा

हिन्दूहरूको महान चाड विजया दशमीको अवसरमा हाम्रा समस्त पाठक वर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा इष्टमित्रहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

– एचकेनेपाल डट कम परिवार

असोज २१ – आज कोजागत पूर्णिमा
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, आज कोजागत पूर्णिमा दिन घरघरमा राखिएका जमरा आज पवित्र स्थलमा लगेर विर्सजन गर्ने गरिन्छ। विजया दशमीको टीका आजका दिनसम्म मान्यजनबाट थाप्ने चलन रहेको छ।

आज साँझ देवी महालक्ष्मीको पूजा अर्चना गरि महिलाहरु जाग्राम बस्ने गर्दछन्। आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ। दशैको बिदाइ संगसंगै आजैबाट १ महिना कार्तिक स्नान गरि तुलसीको पूजा गर्ने चलन रहेको छ।

असोज १९ – दसैंको टीका र जमरा थाप्ने क्रम जारी
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं,विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले आज पनि बिहानैदेखि आफन्त तथा मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी छ। मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन रहे पनि अन्यत्र कोजाग्रत पूर्णिमासम्म टीका र जमरा थाप्ने गरिन्छ।

असोज १७ – आज विजयादशमी, टीका
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, यसवर्षको वडादसैंमा तिथि घटेर नवमी र दशमी एकैदिन परेकोले विहान शुरूमा नवमीको पूजा–आराधना गरेर दशमी तिथिमा विजयादशमीको टीका लगाइने छ।

बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा विजयादशमी मनाइन्छ। घटस्थापनादेखि नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आज लगाउने प्रचलन छ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गाभवानीको प्रसाद, टीका र जमरा लगाइन्छ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

असोज १६ – आज शक्तिपीठहरुमा बली दिएर महाअष्ठमी पर्व मनाइँदै
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ असोज। बडादसैँको आठौँ दिन आज दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। याे वर्ष नवमी र अष्टमी एकै दिन परेकाले माताता सिद्धिदात्रीको पनि पूजाआजा गरिंदै छ। महाअष्ठमीको उपलक्ष्यमा आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गरिन्छ।

काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, वीजेश्वरी,इन्द्रायणी,रक्तकाली, बज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायतका मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लाग्छ।

यसैगरी गोरखाको मनकामना,नुवाकोटको भैरवी, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिरूपा भगवतीको पूजाअर्चनाका लागि यस उपलक्ष्यमा विशेष भिड लाग्छ।

महाअष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ।

पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्।

हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै राँगा र बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ।

असोज १५ – आज घरघरमा फूलपाती भित्राइँदै
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ असोज। बडादशैँ अन्तर्गत सप्तमी तिथिमा आज नेपालभर परम्पराअनुसार घरघरमा फूलपाती भित्राइँदैछ। दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्राइन्छ।

गणतन्त्र स्थापनासंगै दशैं मान्ने प्रचलनमा परिवर्तन आएको छ। पहिले फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरमा पूजारीसहित मगरजातिका छजनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका बाहुन जातिका छ जनाले ल्याउने परम्परा रहेको थियो। हर्षबढाइँका साथ फूलपाती भित्राउन गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बडागुरुज्यू र आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने प्रचलनको अन्त्य भएको छ। तर स्थानीय मठ मन्दिरमा गएर पूजापाठ गर्ने प्रचलन भने कायमै छ।

घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दशैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ। फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ-आफ्ना घर फर्किने क्रम आजदेखि तीव्र भएको छ।

गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउँछन्।

असोज ९ – आज घटस्थापना, बडादशैं शुरू भयो
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ९ असोज। हिन्दूहरुको महान् चाड बडादशैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्पराअनुसार दुर्गाभवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइंदै छ।

बडादशैंको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टांसी जौ र मकै रोपेर घटस्थापना गरिंदै छ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै एक/एक तीर्थमा स्नानका साथै एक/एक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ। विजयादशमीको दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन्। नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि भनेको बताइन्छ।

भदौ २७ – दशैंको टीकाको साइत १० बजेर १५ मिनेटमा
काठमाडौँ, २७ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ। घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ। त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो। यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने पनि उहाँले बताउनुभयो।

असोज १३ गते सोमबार पचली भैरवको यात्रा परेको छ । असोज १५ गते बुधबार फूलपातीका दिन बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ४३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष गौतमले बताउनुभयो।

असोज १६ गते बिहीबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ। असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ।

त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ आदि कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि अध्यक्ष गौतमले बताउनुभयो।

असोज १७ गते शुक्रबार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर १५ मिनेटको साइत भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ।

शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने पनि उहाँले स्पष्ट पार्नुभयो।

विजयादशमीका दिनमा गरिने तुलजा भवानीको यात्राका लागि १७ गते बिहान १० बजेर २१ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ। खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको छ।

दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्नेछ । त्यसै दिन कोजाग्रत पूर्णिमा व्रत परेको पनि समितिले जनाएको छ।

यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ। नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो।

नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो। चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ।





Comments

comments

1706