कोलोराडोमा बिभिन्न सांस्कृतिक कार्यक्रमसहित होली मनाइयो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेपालीभाषीले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप, सद्भावसंगै असत्य माथि सत्यको बिजय भएको खुसीयालीमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन्।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आइतबार दिउसो १ बजेदेखि ४ बजेसम्म नेपाली सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रंग लगाई उनीहरुले होली मनाएका हुन्।

कार्यक्रमको शुरुमा पंडित जीवन बराल गुरुद्धारा बिधिबत पूजा सम्पन्न गराइ होलीको महत्व प्रकाश पार्नु भएका थियो । त्यसपछि उहाँले सबैलाई प्रसाद लगाई दिएपछि एक आपसमा रंग लगाउने कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा कोलोराडोमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, कलाकार, पत्रकार, नेपाल र नेपालीको संस्कृतिलाई मनपराउने स्थानीय तथा नेपाली बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली संस्कृतिक केन्द्रको प्राङ्गणमा जम्मा भएका नेपाली भाषी दाजुभाइ, दिदी बहिनीहरु हातमा बिभिन्न थरीका रंग लिएर आ–आफ्ना दौतरीहरुलाई लगाउन व्यस्त देखिन्थे । होली गीतको तालमा नाच्दै होली खेलिरहेको देख्दा विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरु आफ्नो संस्कृति र चाडपर्बको जगेर्ना गर्न कम्मर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो।

कार्यक्रममा नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै हाम्रो भाषा संस्कृति संरक्षण तथा बालबालिका तथा स्थानीयलाई यसको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए । उनले हाम्रो आस्थाको केन्द्र आफ्नै भवनमा कार्यक्रम आयोजना गर्न पाउंदा गर्वको महसूस भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्तमा प्रसाद खाएर सबै बिदा भएका थिए।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुरस्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडिएको चिरमा पूजाआजा गरेपछि विधिवत रुपमा होली सुरु भएको मानिन्छ । नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपालसंगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, क्यानडा, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगायतका देशहरुमा भब्यताका साथ मनाईन्छ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आफ्ना पुत्र प्रलादलाई मार्ने उद्धेश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रलादका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रलादलाई केही नभएकले त्यही बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ।

त्यसैगरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुति छ।

यि र यस्ता हिन्दु संस्कृति तथा परम्परा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्यमाथि सत्यको विजय भएको खुसियालीमा यो पर्व मनाईने चलन रहेको छ।





Comments

comments

111006