निगमको उडान रद्द गर्ने ६ कर्मचारीलाई कारबाही सिफारिस

काठमाडाैं – गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ।

घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको यो समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेखेका छन्।

प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ । त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । तर, नाम किटान गरेरै कारबाही सिफारिस गरिए पनि दोषीको नाम भने सार्वजनिक नगर्ने सहमति भएको छानबिन समितिका एक सदस्यले बताए।

व्यक्तिविशेषको आदेशका भरमा काम हुने गरेको पाइएको भन्दै प्रतिवेदनमा लिखित रूपमा समस्या समाधान गर्ने विधि विकास गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाब दिइएको छ । समितिले धावनमार्ग बन्द गर्नेबारे हवाई सेवा प्रदायक कम्पनीलाई दिइएको सूचना ‘नोटम’ कार्यान्वयन सबै कर्मचारीबाट समान रूपमा हुनुपर्ने सुझाब पनि दिएको छ । प्रतिवेदनमा यात्रु भरेर उडानका लागि ठिक्क परेको अन्तर्रा्ष्ट्रिय विमानलाई काममा बाधा नपर्ने गरी समन्वय गरेर सकेसम्म उडाउनेतर्फ ध्यान दिन पनि सुझाब दिइएको छ।





Comments

comments

28119