चन्द्रागिरि हिल्स रिसोर्टमा दुई नेताको विशेष मिटिङ, के हुदैछ?

काठमाडौं, ३० चैत । करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन्।

चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।

पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये जिल्लाहरूको भागबन्डा गर्दा एउटा पक्षले इन्चार्ज लिए सचिव र अर्को पक्षले अध्यक्ष लिए सहइन्चार्ज पाउने मोडलमा यसअघि नै समझदारी भइसकेको छ।

प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यका अनुसार दुई अध्यक्षबीच जिल्ला अध्यक्ष र सचिवको सूची, जनसंगठनको नेतृत्व भागबन्डा, केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत समग्र विषयमा ‘प्याकेज’मा छलफल भएको छ । ‘उहाँहरूले प्याकेजमै टुंगो लगाउने गरी फेददेखि टुप्पोसम्म सबै विषयमा छलफल गर्नुभएको छ,’ ती नेताले नयाँ पत्रिकासँग भने, ‘सचिवालयका अरू नेताहरूलाई पालैपालो वेग्लावेग्लै परामर्श गरिसक्नुभएकाले उहाँहरूले प्याकेजमै सबै टुंगो लगाउने गरी लामो गृहकार्य गर्नुभएको हो ।’

केन्द्रीय सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरि हिल्स पुगेका ओली–प्रचण्ड २३ घन्टा बिताएर शुक्रबार ४ बजे फर्किएका थिए ।

छलफलको सहयोगी भूमिकामा सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ र महासचिव विष्णु पौडेल पनि गृहकार्यमा सहभागी थिए । बादल एकता प्रक्रियाको बाँकी कामको गृहकार्यका लागि गठित ९ सदस्यीय कार्यदलका संयोजक थिए । बादलले पूर्वमाओवादी तथा महासचिव पौडेलले पूर्वएमाले समूहको तर्फबाट प्रस्ताव तयारीमा सहयोगी भूमिका खेल्दै आएका छन् । यी दुई नेता रहेको दुई सदस्यीय कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नामावली तयार पारेपछि सचिवालय बैठकबाट पारित भएको थियो ।

झन्डै एक वर्षदेखि एकता प्रक्रिया अल्झिएकाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी स्थापना दिवस (आगामी ९ वैशाख)भित्रै सबै काम टुंग्याउने बताउँदै आएका छन् । यसैअनुसार दुई अध्यक्ष छलफलमा बसेको निकटस्थ स्रोतहरूले बताएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताहरूले भने पोलिटब्युरो गठनपछि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नुपर्ने, जिल्ला नेतृत्व मापदण्डका आधारमा टुंग्याउनुपर्नेलगायत धारणा राख्दै आएका छन् ।

तर, लामो समयदेखि उठाउँदै आएका ती विषयमा दुवै अध्यक्षले बेवास्ता गरेकाले एकतर्फी सर्कुलर जारी गर्ने तयारी भइरहेको नेपाल पक्षीय नेताहरूको बुझाइ छ । त्यस्तो अवस्थामा समानान्तर कमिटीसमेत गठन गर्न सक्ने चेतावनी दिएर नेपाल पक्षले छुट्टै सूचीको गृहकार्य गरिसकेको छ । ओली–प्रचण्डले नेपालसँग छलफल गरेर एकता प्रक्रियाको बाँकी काम टुंग्याउने तयारी गरे पनि उनी एक सातादेखि अस्वस्थ छन् । अस्वस्थताकै कारण नेपालसँग दुई अध्यक्षले परामर्श गरेका छैनन् ।

चन्द्रागिरि बैठक एकताका लागि ‘ब्रेक थ्रु’ : ईश्वर पोखरेल

पार्टी एकताको बाँकी काम समयमै नटुंगिँदा नेता–कार्यकर्तामा नैराश्यता बढेको नेतृत्वले अनुभूति गरेको छ, त्यसैले एकता प्रक्रियाका बाँकी काममा ब्रेक थ्रु गर्न चन्द्रागिरि बैठकले विशेष भूमिका खेल्नेछ र अब एकताको काम टुंगिन्छ ।





Comments

comments

28135