टाइमरको AM र PM छुट्याउन नसक्दा पड्कियो बम, विस्फोटमा यसरी गयो ४ जनाको ज्यान

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना, तर तीन ठाउँमा अघिल्लो बेलुकी नै विस्फोट, राजधानीका थप चार ठाउँमा बम भेटियो

विस्फोटमा मारिएका प्रज्वल (विशाल) शाही

घट्टेकुलोः
४:१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल (विशाल) शाहीको मृत्यु भएको छ । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् । उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन् । आइतबार साँझ गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सुरक्षा बैठक बसेको थियो । बैठकमा विप्लव समूहप्रति थप कडा रूपमा प्रस्तुत हुन मन्त्रीले निर्देशन दिएका छन्।

सुकेधारा
करिब ४:१५ वरिपरि नै सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन।

ग्वार्को
सोमबारको नेपाल बन्दलाई लक्षित गरी ग्वार्को, लगनखेल, सानेपा र कोटेश्वरमा प्रेसरकुकर बम राखिएको थियो । ती सबै ठाउँमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । तर, नागढुंगामा भने विप्लव समूहका कार्यकर्ताले लक्षित ठाउँमा नपु-याउँदै बम विस्फोट भएको छ । गुडिरहेको मोटरसाइकलमा विस्फोट हुँदा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ, तर कुकरबम बोकेको आरोपमा प्रहरीले कोटेश्वरबाट सातजना पक्राउ गरेको छ।

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४:१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४:१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो।

दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले १२ घन्टाअघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको भएको बताएका छन्।

सुकेधारा, घट्टेकुलो र नागढुंगाका तीनैवटा विस्फोट दुर्घटनावश भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा विप्लव समूहका चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। सोमबारको बन्दलाई लिएर विप्लव समूहले थुप्रै ठाउँमा विस्फोटको तयारी गरेको देखिन्छ । तर, प्रहरी र गुप्तचर निकायलाई त्यसको सुइँकोसमेत थिएन । यसले सुरक्षा निकायको सूचना संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल भने सो समूहले हिंसात्मक गतिविधि गर्न सक्ने पूर्वआकलनअनुसार नै प्रहरीले सुरक्षा योजना बनाएर अघि बढेको बताउँछन् । ‘सो समूहका गतिविधि प्रहरीको विशेष निगरानीमै छन्,’ उनी भन्छन्, ‘सूचना संयन्त्र पनि यसमा खटिएको छ।’

सुकेधाराको ढलाने पुलछेउमा विस्फोट भएको बम निकै शक्तिशाली भएको प्रहरीको भनाइ छ । विस्फोटबाट भुइँमा करिब दुई फिट गहिरो खाल्टो परेको छ । पसलका सिसा फुटेर सडकमा छरिएका छन् । तर, कस्तो किसिमको बम थियो भन्ने, स्पष्ट भइसकेको छैन।

खोलानजिकैको टहरामा रामप्रसाद बोलखेले ६ वटा सटर बनाएका छन् । जसको छेउमा उनकै गोरखानाथ कुचो पसल छ भने त्यसपछि ‘दाजुभाइको खाजा पसल’ । तेस्रो सटरमा ठाकुरको सैलुन छ । सोही सैलुनभित्र विस्फोट भएको हो । त्यसवेला सैलुनमा ठाकुर र विप्लवका ६ जना कार्यकर्ता मात्र थिए।

‘म पसलभित्रै थिएँ । सुरुमा भुटभुट गरेको आवाज आयो, लगत्तै ठूलो आवाजमा पड्कियो । बिजुलीको ट्रान्सफर्मर पड्कियो अब मेरो गोदाम सकियो भन्ने लाग्यो,’ घरधनी बोलखे भन्छन्, ‘पड्केपछि पनि बेहोस भएछु । पानी खुवाएपछि बिउँझिए । धन्न केही भएनछ।

बाहिर मान्छे जम्मा भएर उद्धार गरिरहेका छन् । सैलुनमा ग्यास पड्केको भन्ने सुनेँ । के पड्केको हो थाहा छैन । साढे दुई वर्षदेखि ठाकुर यहाँ बस्दै आएका छन् । तिनको नाम पनि के हो मलाई थाहा भएन ।’ अर्का स्थानीय राम न्यौपानेका अनुसार मृतकहरूको गिदी सडकसम्म छरिएको थियो । ‘ठूलो आवाज आएपछि म आधा मिनेटमै आइपुगेको थिएँ, मान्छेहरू प्राण बचाऊ भनिरहेका थिए, एकजना त मरिसकेका थिए । अरू घाइतेलाई हामीले नै उठाएर ओम अस्पताल पु-याएका हौँ।’

घट्टेकुलोका बासिन्दा सागर दाहाल कोठामै थिए । पब्जीमा रमाइरहेका उनको मुटु जोडदार विस्फोटले हल्लाइदियो । कोठाबाट हत्तपत्त बाहिर निस्किए । ‘छिमेकीको घरमा ग्यास सिलिन्डर पड्क्यो’ भन्दै बुबा चिच्याए । उनी छिमेकी निमा कार्कीको घरतर्फ दौडिए । तर, गेट खुलेन।

वैकल्पिक गेटबाट भित्र छिरे । भुइँतलाको कोठाबाट बारुदको गन्ध आइरहेको थियो । उनी त्यतै दौडिए । उनको अगाडि क्षतविक्षत शव पल्टिरहेको थियो । उनले मोबाइल झिकेर तस्बिर खिचे । ‘झ्यालका सिसा फुटेका थिए, लास भुइँमा थियो । भित्ता भत्केको थियो । भुइँभरि रगत देखिन्थ्यो,’ उनले नयाँ पत्रिकासँग घटनास्थलको वर्णन गरे । घटनास्थल प्रहरी र सेनाले घेरेपछि पो उनी साँच्चै डराए । अब उनको मुटु काँप्न थाल्यो । आतंकित बनेका उनी घटनास्थलबाट हत्तपत्त बाहिरिए।

घट्टेकुलोमै डेरा गरी बस्ने सपना पौडेल कोठाभित्रै थिइन् । ओछ्यानमा पल्टिरहेकै वेला विस्फोटले घर हल्लियो । आत्तिएर उनी बाहिर निस्किइन् । छिमेकी घरबाट धुवाँको मुस्लो उडेको देखियो । हावाले उडाउँदै धुँवा वरवर आयो । ग्यास पड्केको हल्ला छिमेकमा चल्यो, त्यसैले सामान्य घटना ठानिन्।

त्यहीवेला केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा पढ्ने सुमित कार्कीले इसाराले एकजना घाइते रगत चुहाउँदै भागेको बताएपछि उनी झस्किइन् । ‘सुमित स्कुलबाट सधैँ साढे ४ बजे घर फर्किन्छ । आज पनि त्यही समयमा ऊ घर फर्कँदै थियो । विस्फोटको आवाज आएपछि हामी कोठाबाट बाहिर निस्किएका थियौँ । सुमित आत्तिँदै आइरहेको थियो । उसले इसाराबाट रगतले लत्पतिएको एक अपरिचित विस्फोट भएको घरबाट भागेको बतायो । त्यसवेला पो बम पड्केको थाहा पायौँ।’

घट्टेकुलो दिनभर त्रसित
स्याङ्जाकी सिर्जना पौडेल बम विस्फोट भएको घरमा डेरा गरी बस्न थालेको चार महिना मात्रै भयो । विस्फोटको त्रासले जतिसक्दो चाँडो घरबाट डेरा सर्ने मनस्थितिमा उनी पुगेकी छिन् । तर, जाने कहाँ ? उत्तर उनले भेटाउन सकिरहेकी छैनन्।

‘छिमेकी कोठामा बम पड्कियो । मान्छे मरे । यस्तो ठाउँमा आजको रात समेत काट्न मुस्किल परिरहेको छ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘स–साना केटाकेटी छन् । सबै डराएका छन् ।’ विस्फोट भएको घर रामेछापकी निमा कार्कीको हो । तीन भागमा विभाजित घरमा २३ परिवार अटाएका छन्।

यसरी भयो विस्फोट
प्रहरीका अनुसार घट्टेकुलो विस्फोटमा मृत्यु भएका बझाङका विशाल शाही हुन् । तर, उनले प्रयोग गर्ने एटिएम कार्डमा लेखिएको नाम प्रभुजंगबहादुर शाही छ । उनले दुई महिनाअघि निमा कार्कीको घरमा कोठा भाडामा लिएका थिए । त्रिचन्द्र कलेजमा बिए अध्ययनरत उनी छिमेकी कोठाका अन्य व्यक्तिसँग बोल्दैन थिए । आफ्नै सुरले कोठामा आउने–जाने गर्थे । कोठामा वरिपरिका कसैलाई पस्न दिँदैनथे । तर, अपरिचति अन्य व्यक्ति भने आउजाउ गरिरहन्थे।

आइतबार पनि उनले कीर्तिपुर बस्ने पश्चिम रुकुमका रविन केसीलाई फोनबाट कोठामा बोलाए । उनी पनि त्रिचन्द्रमा नै पढ्थे । दुवैले कोठामा जम्मा गरिराखिएको विस्फोटक पदार्थ झिके । बम पड्काउने तरिका सिक्न शाहीले विस्फोटक पदार्थको तार तथा बटम चलाउन थाले । यही क्रममा विस्फोट भयो । शाहीको घटनास्थलमै मृत्यु भयो भने केसी भागेर बाहिर निस्किए । गुहार मागेपछि छिमेकीले उनलाई वीर अस्पताल पु-याए।

नख्खुदेखि नागढुंगासम्म विप्लव समूहको विस्फोट शृंखला
प्रहरीको गोलीबाट भोजपुरका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको गत ८ जेठमा मृत्यु भएको थियो । त्यसैको विरोधमा विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको थियो । बन्द हिंसात्मक बनाउने उसको योजना थियो । सोहीअनुसार उपत्यकामा शक्तिशाली बमहरू राख्ने तयारी त्यो समूहले गरिरहँदा ‘दुर्घटनावश’ यी विस्फोट भएको प्रहरी अधिकारीहरू बताउँछन्।

१० फागुनमा नख्खु विस्फोटयता सरकार र विप्लव समूहबीच हिंसाको प्रतिशोध शृंखला चलेको छ । एनसेलको कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । त्यसयता हिंसाका घटना बढेका छन्।

नख्खु विस्फोटको केही दिनमा काभ्रेमा सो पार्टीका नेता हेमन्तप्रकाश वलीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो । त्यस्तै नवलपरासीको शिवगढीमा २३ फागुनमा पनि प्रहरीले गोली चलाएको थियो । २४ फागुनमा वसुन्धरामा सो समूहले व्यवसायी रोहन गुरुङको घरमा विस्फोट गराएको थियो।

त्यसपछि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने र आपराधिक समूहका रूपमा कारबाही गर्ने निर्णय गरेको थियो । २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएको थियो । तर, त्यसयता पनि हिंसाको शृंखला रोकिएको छैन । सरकारले पनि सो समूहका कार्यकर्ता पक्राउ गर्न पटकपटक गोली चलाउने गरेको छ । त्यसको प्रतिरोधमा सो समूहले विस्फोट गराउँदै आएको छ । आइतबारको शृंखलाबद्ध विस्फोटपछि सर्वसाधारणमा हिंसाको त्रास बढेको छ।

गत १५ फागुनमा धरानमा अत्याधुनिक एलएमजी एकथान प्रहरीले बरामद ग-यो । गत फुागन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित शिवगढीमा हातहतियारसहित नेता–कार्यकर्ता लुकेको आशंकामा प्रहरीले बिहानै छापा मा-यो ।

यादव चन्दको घरबाट प्रहरीले एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू १ बोरा (२५ केजी) बरामद ग-यो । गत फागुन २५ गते वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङका घरमा बम विस्फोट गराए । विप्लव पार्टीले एकपछि अर्को घटना गराउनुका साथै हतियार फेला पर्दै गएपछि पार्टीका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको हो । नयाँपत्रिकामा नवराज मैनाली र टेकराज थामीले यो समाचार लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29529