हङकङ समाचारः युन लङ काण्डः विधायकमाथि नै सांघातिक आक्रमण, मुखमा १८ टाँका

एकमाथि दर्जनौं जाई लाग्दा.. फोसौः @WilsonLeungWS

न्युज डेस्क, पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २२ जुलाई। युन लङ रेल स्टेशनमा आइतवार राति भएको हिंसात्मक आक्रमणमा परेर डेमोक्रेटिक पार्टीका विधायक लाम चेयुक टिंग घाइते भएका छन्। उपचारपछि उनको ओठमुनि १८ टाँका लगाइएको अस्पतालले जनाएको छ।

विधायक लाम चेयुक टिंग। फोसौः आरटीएचके

सरकार विरोधी प्रदर्शनमा भाग लिएर फर्केका प्रदर्शनकारीमाथि युन लङ रेल स्टेशनमा व्यापक सांघातिक आक्रमण भएको थाहापछि त्यहाँ पुग्दा आफूमाथि आक्रमण भएको लामले बताएका छन्।

लामले प्रहरीको निष्क्रियतालाई गैरकानुनी अपराध भनेका छन्। प्रहरीले घटनास्थल आउन ढिलाई गरेको भन्दै लामले आलोचना गरेका छन्। उनले प्रहरीले आफ्नो कर्तव्य पालन गर्न विफल रहेको बताएका छन्।

पिठ्यूंभरी यसरी बर्सियो लाठी। फोसौः @hyjpang

सेतो टी-सर्ट लगाएका समूहले आइतवार राति रेलबाट आएका कालो टी-सर्ट लगाएका यात्रुलाई लक्षित गरी अन्धाधुन्ध फलामका रड, लाठी, पानीका बोट्टल र अन्य वस्तुहरुले आक्रमण गर्दा ४० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था अत्यन्त नाजुक र ५ को अवस्था गम्भीर रहेको अस्पताल अधिकारीले जनाएको छ।

डेमोक्रेटिक पार्टी, सिविक पार्टी र लेबर पार्टीसहित विपक्षी खेमाले घटनाको कडा भत्सर्ना गरेका छन्। सरकारले पनि हङकङ आइल्याण्ड र युन लङमा भएका हिंसक आक्रमणको निन्दा गरेको छ।

केही सरकारविरोधी प्रदर्शनकारीले आइतवार बेइजिङको सम्पर्क कार्यालयमा अण्डा फ्याँक्दै भित्ताभरी कालो पोतेका थिए। प्रहरीले टियर ग्याँस र रबर बुलेट प्रहार गरी प्रदर्शनकारीहरुलाई तितरवितर पारेको थियो। यस सम्बन्धी सम्पूर्ण समाचारहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

30890