कोलोराडोमा लक्ष्मीजयन्तीसंगै साहित्यकार उपमा सम्मानित

फोटोः नातिबाबु भट्ट

नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। कोलोराडोमा ११० औं लक्ष्मीजयन्तीको अवसरमा कवि गोष्ठी, श्रष्ठा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रम एक समारोहबीच सम्पन्न भयो।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार सम्पन्न कवि गोष्ठी, पुस्तक बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रममा साहित्यकार उपमा आचार्यलाई स्वागत तथा सम्मान गरिएको हो।

कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी, कवि, कवयित्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो।

महाकवि देवकोटाको फोटोमा मल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा डा. विजयराज शर्माले महाकवि देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका योगदानको चर्चा गरेका थिए। “हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले” देबकोटाले त्यो जमनामा मुनामदनमार्फत उल्लेख गरेका सामाजिक संन्देशहरु आजसम्म पनि जस्ताको तस्तै समय सान्दर्भिक रहेको छ। उनका मुनामदन, शकुन्तला, कुञ्जिनी जस्ता अमरकृतिहरुले नेपाली भाषा साहित्यमा अहिलेसम्म पनि महत्वपूर्ण टेवा दिईरहेका छन्।

त्यस्तै साहित्यकार ज्ञानेन्द्र गदालले कवयित्री, साहित्यकार तथा उप–प्राध्यापक उपमा आचार्यले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएका योगदानबारे प्रकाश पारेका थिए।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तारा अधिकारी, उपाध्यक्ष मीना पौडेल, सााहित्यकार आचार्य प्रभा, तथा अन्तर्राष्ट्रिय साहित्य समाज बोर्ड अफ ट्ष्टी सदस्य प्रमिला शर्माद्धारा संयुक्तरुपमा कवयित्री साहित्यकार उपमा आचार्यलाई खादा र फूलका गुच्चाले स्वागत , सम्मान गर्दै राईटर ईन्टरनेशनलद्धारा प्रकाशित तथा आचार्यद्धारा लिखित छन्द कविता संग्रह “मातृ वन्दना” संयुक्त रुपमा बिमोचन गरेका थिए।

त्यसैगरी सोही समारोहमा राईटर ईन्टरनेशनलका तर्फबाट साहित्यकार ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल लगायतका ब्यक्तिहरुबाट दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरी साहित्यकार उपमालाई सम्मान गरिएको थियो।

कार्यक्रमको दोश्रो चरणमा उपस्थित झण्डै डेढ दर्जन कवि कवयित्रीहरुले आ–आफ्ना रचनाहरु गीत, कविता, गजलमार्फत महाकवि देवकोटाप्रति श्रद्धा सुमन अर्पण गरेका थिए।

यसरी गीत, कविता, गजल प्रस्तुत गर्नेहरुमा उपमा आचार्य, पदम बिश्वकर्मा, डा.बिजयराज शर्मा, ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, तारा अधिकारी, प्रमिला शर्मा, निर्मल प्याकुरेल, संझना पाण्डे, मिना पौडेल, भुपेन्द्र महत, ज्ञानेन्द्र काफ्ले, संझना आचार्य, बासु खनाल, रविन रेग्मी, केशव आचार्य, मारिया अधिकारी, छवि रसाईली लगायतका रहेका थिए।

आयोजक संस्थाका अध्यक्ष तारा अधिकारीको अध्यक्षतामा तथा सम्मानित ब्यक्तित्व साहित्यकार उपमा आचार्यको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा महासचिव संझना आचार्यले उपस्थित सबैलाई स्वागत गरेकी थिए भने किरण अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा सम्मानित उपमाले आफूलाई सम्मान गर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै आफ्नो साहित्य यात्राका अनुभवहरु प्रस्तुत गरेकी थिईन्।

मानिस जहां जसरी रहे पनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम हुदै आएको छ।





Comments

comments

32526