चीन–भारत तनावले नेपालको आन्तरिक सुरक्षामा पार्ने प्रभावबारे विश्लेषण गर्दै नेपाली सेना

फाइल फोटो

काठमाडौं – चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ?

जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो।

चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भिडन्त, त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे छलफल भएको हो । दुई छिमेकी मुलुकका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा बढेको तनाव, त्यसले नेपाललाई पार्न सक्ने सुरक्षा प्रभावबारे खुलेरै छलफल भएको सैनिक स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकाली वार्ताका माध्यमबाट जारी तनावको समाधान गर्न चीन र भारतलाई आग्रह गरिसकेको छ । नेपालले दुवै छिमेकीलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको हो । जंगीअड्डामा भएको पृतनापति बैठकमा पनि चीन–भारत सीमा समस्या र त्यसले नेपाललाई पार्न सक्ने सम्भावित असरको विषयले प्रवेश पाएको हो । बाह्य गतिविधिले नेपालको आन्तरिक सुरक्षामा उत्पन्न गराउन सक्ने चुनौतीबारे बैठकमा छलफल चलेको थियो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले चीन र भारतबीच बढेको तनावले नेपालमा के कस्तो सुरक्षा चुनौती बढ्न सक्छ ? त्यसको सूक्ष्म विश्लेषण गर्नुपर्ने धारणा राखे । त्यसबाट नेपाललाई पर्न सक्ने असर, त्यसले उत्पन्न गराउन सक्ने चुनौती विश्लेषण गरी सोहीबमोजिम रणनीति र कार्ययोजना तयार पार्न उनले सम्बन्धित विभागलाई निर्देशन दिएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।





Comments

comments

Trending Now : यसकारण हट्दैनन् प्रधानमन्त्री ओली
37289