धन कमाउन जानेहरु दिनहुँ तीन जना बाकसमा फर्कन्छन्

काठमाडौं- बाँके, उढरापुर–२ शान्तिनगरका नरबहादुर बस्नेतको तीन महिना अघि साउदी अरबमा मृत्यु भयो। साउदीको ‘मुसा’ नामक कम्पनीमा काम गरेर कोठा फर्केलगत्तै नरबहादुरको मृत्यु भएको कम्पनीले परिवारजनलाई जानकारी गरायो। भदौ ११ गते कम्पनीले नरबहादुर काम गरेर कोठामा फर्केपछि सुतेको सुत्यै भएको परिवारलाई जानकारी दिनुबाहेक अरू कुनै खबर गरेको छैन।

फाइल फोटो

नरबहादुरका मितभाइ हस्तबहादुर विकले कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि अझै मृत्युको कारण खुल्न नसकेको बताए। ‘६ महिनाअघि घर छाड्ने बेला शारीरिक रूपमा तन्दुरुस्त नरबहादुरको त्यहाँ कडा काम गर्नुपरेकै कारण मृत्यु भएको आंशका गरेका छौं,’ हस्तबहादुरले भने।

दस दिनअघि संयुक्त अरब इमिरेट्समा मृत्यु भएका गोरखा, फुजेलका ३८ वर्षीय कृष्णप्रसाद पोखरेलको शव मंसिर २२ गते नेपाल ल्याइयो। उनका भाइ परशुरामका अनुसार मुटुसम्बन्धी समस्याले कृष्णप्रसादको मृत्यु भएको हो। ‘कृष्णप्रसादको मृत्युले दुई सन्तानको शिक्षादीक्षा र पत्नीको जिउने आधार खोसेको छ,’ त्रिभुवन विमानस्थलमा दाइको शव बुझ्ने क्रममा परशुरामले दुःखेसो पोखे। वैदेशिक रोजगारीका लागि कृष्णप्रसाद तीन वर्षअघि संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीदेखि १ सय ६० किलोमिटर टाढाको अल एन हसर पुगेका थिए।

वैदेशिक रोजगारीमा युवायुवतीको आकर्षण बढेसँगै गन्तव्य मुलुकमा ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ। श्रम गर्ने उमेरका युवायुवतीले विदेशी भूमिमा ज्यान गुमाउने संख्या निरन्तर बढिरहँदा नेपालमा वैदेशिक रोजगारीको वैकल्पिक व्यवस्थाबारे गम्भीर छलफल हुन सकेको छैन। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10016