नयाँ गठबन्धनमा विवादित मान्छे पनि छन् : उपाध्यक्ष भुसाल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन्। शुक्रवार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन्।

उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको समेत उनले बताइन् ।

‘आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरू थप्दै जाऊँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दाखेरि अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौँ भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन’ भुसालले भनिन्– ‘अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो सङ्ख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्‍याउनुपर्छ । यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ ।’

भुसालले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनी राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरङ्गित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरूले बनाइएको बताइन् । उनले भनिन्, ‘यसले एउटा राजनीतिमा राष्ट्रिय रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरू बसेर गरिएको हो । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनायो कि भन्ने केही अन्तर्राष्ट्रिय तरङ्ग पनि यसले ल्याएको छ । तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुनर्गठन हो ।’

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने सङ्कल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने समेत प्रस्ट पारिन् ।

‘हामी के स्पष्ट हुनुपर्छ भने काम गर्ने, कामको गति अगाडी बढाउने र केही निष्कर्ष देखिने, जनताले जीवन व्यवहारमा सुशासनको अनुभूति गर्ने, जनताको जीवनमा आर्थिक परिवर्तनका अनुभूतिहरू आउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरेर गर्ने संकल्पसित यो नयाँ गठबन्धन बनाइएको हो । त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न’ भुसालले भनिन् ।

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरू समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्ने बताइन् । उनले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताइन् ।

उपाध्यक्ष भुसालले महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्तिका लागि सङ्घर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान् बनाउँदै लानुपर्नेमा जोड दिइन् । संविधानले दिएका सबै अधिकारीहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाई छ ।

भुसालले महिलालाई पैतृक सम्पत्तिको मालिक बनाउने एजेन्डासहित अगाडी बढ्नुपर्ने बताइन् । महिलालाई आर्थिक अधिकार दिनुपर्ने कुरालाई पहिले आफ्नै पार्टी पंक्तिमा लागू गर्दै जानुपर्ने र देशव्यापी रूपमा अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् ।





Comments

comments

109654