नेपालीहरुको उत्कृष्ट प्रस्तुतिसहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ उल्लासपूर्वक सम्पन्न

तस्वीरहरुः भूमिराज राई

रोचेस्टर स्विप्स फेस्टिभल २०२४ को अन्तिम दिन ३ मे साँझ रोचेस्टर क्यासलको प्राङ्गणको मुख्य स्टेजदेखि समापन मन्तब्य दिंदै मेयर निना गुरुङले सहभागी सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापान गर्नु भयो।

हरेक बर्ष लोकप्रिय बन्दै गई रहेको रोचेस्टर स्विप्स महोत्सब २०२४ (Rochester Sweeps Festival 2024) को बयालीसौं संस्करण भब्य सफलताकासाथ सम्पन्न भएको छ।

मेडवेको पुरानो ऐतिहासिक शहर रोचेस्टरको गिल्डहल म्यूजियम फोरकोर्ट बाहिर ४ मे २०२४ शनिबार स्थानीय समय १०:४५ मा मेडवेकी मेयर काउन्सिलर श्रीमती निना गुरुङ् (पहिलो महिला नेपालीमूलकी मेयर) ले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामनासहित नृत्य प्रदर्शन गर्दै कार्यक्रमको उदघाटन गर्नु भएपछि ३ दिनसम्म भब्य सहभागिता सहित महोत्सब सम्पन्न भएको हो।

अत्यन्तै ब्यबस्थित र सुरक्षित तरिकाले कार्यक्रमको ब्यबस्थापन भएकाले कुनै पनि नराम्रो घट्ना नघटी अत्यन्तै रमाइलो बातावरणमा ३ दिनसम्म रोचेस्टर स्विप्स फेस्टिभल चलेको चलेको थियो।

मोरिस नर्तक नर्तकीहरुको खुट्टाको चाँप घण्टी, मौलिक लोक धुन, बाजा र अन्य सांगीतिक धुनसहित रोचेस्टरको शहर, साथै रोचेस्टर क्यासलको प्राङ्गण महोत्सवमा रमाउन सहभागी हुनेहरुको भिडले पुरै भरिएको थियो। मोरिस नर्तकहरुको रंगी बिरंगी पहिरन, अनुहार पोतेर बिभिन्न रंगमा सजिएर कोही बाजासहित त कोही लाठी बोकेर लोक धुन र संगीतमा आफ्नो मौलिक लोक नृत्य प्रस्तुत गरिरहेका देखिन्थे।

सहभागीहरु युरोपदेखि मात्र होइन दक्षिण एशिया र अफ्रिकी महादेशदेखि पनि आएका भेटिए। यो महोत्सव विश्वको लोकगीत संगीत र नृत्यको संगम स्थल बनेको थियो।

यो बर्ष पहिलो पटक गोर्खा नेपाली समाज मेडवे (Gurkha Nepalese Community Medway GNCM) लाई पनि स्विप्स फेस्टिभलमा सहभागिताको अवसर प्राप्त भएको थियो।

त्यसको सदुपयोग गर्दै नेपाली लोक गीतमा दुईवटा सोलो नृत्य गोर्खालीको पहिचान एड्भान्स खुखुरीप्याटर्न, किरात राईहरुको साकेला अनि गोर्खालीहरुका बारेमा, नेपाल र नेपाली सामाग्रीहरुको प्रदर्शनी (वर्कसप) प्रस्तुत गरेर नेपाली संस्कार, लोक नृत्य र संगीतको प्रस्तुति दिएर आफ्नो बलियो उपस्थिति जनाउन सफल बनेको छ।

साकेला नृत्यमा स्थानीय र महोत्सवमा सहभागीहरुसमेत ढोल र झ्याम्टाको तालमा ताल मिलाउँदै साकेलामा रमाएको दृष्य हेर्दै महोत्सवमा सहभागी ठूलो संख्याको नेपालीहरु गर्व मानिरहेका देखिन्थे।

महोत्सवमा नेपाली उपस्थितिले केहि हदसम्म भए पनि नेपालको पर्यटनमा टेवा पुग्ने र स्थानीयहरुका बीच नेपाली संस्कार संस्कृति, संगीत र कलाको बारेमा केही जानकारी दिन सफल बनेकोमा नेपाली समाज मेडवे आफ्नो सहभागिता उपलब्धिमूलक बनेको जस्तो लागेको GNCM का उपाध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिनु भयो। छोटो समयका बाबजुद पनि गोर्खा नेपाली समाज मेडवेले दिन रात खटेर भए पनि आफ्नो उपस्थिति बलियो देखाउन पाएको अनुभबसहित आगामी बर्षहरुमा फेरी सहभागी हुन पाए अझै बढी प्रस्तुतिहरु दिने प्रयास गर्ने कुरा महासचिब हरित पोख्रेलको छ।

“अझै धेरै गर्न सकिन्थ्यो तर करिब १ महिना अगाडीमात्रै सहभागी हुन पाउने जानकारी आएकाले निक्कै धपेडीका साथ यत्तिको प्रस्तुति दिन सकियो यसैमा गर्व लागेको छ। भविष्यमा फेरी मौका पाए अझै बढी अन्य जातजाति र लोक संस्कृति मिसाएर उपस्थिति जनाउने छौं। यो बर्षको प्रस्तुतिहरुमा सहभागी सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यबाद ” भन्दै महासचिब पोखरेलले आभार व्यक्त गर्नु भयो।

नेपाली प्रस्तुतिहरु उत्कृष्ट रहनुका साथै धेरै सहभागीहरुले मन पराई दिएको र नेपालको बारेमा धेरै बुझ्ने मौका पाएको प्रतिक्रिया धेरैको रहेको जानकारी दिनु हुँदै मेडवेकी मेयर काउन्सिलर श्रीमती निना गुरुङले आफू नेपालीमूलकी पहिलो महिला मेयर भएर कार्यक्रमको उद्घाटन गर्न पाउनु गर्वको कुरो रहेको बताउनु हुँदै नेपाली संस्कृति, नृत्य, वीर गोर्खालीहरुको पहिचानको पर्याय खुखुरी प्याटर्न, जनजाति राईहरुको साकेला प्रस्तुति दर्शक सहभागीहरुलाई नचाउन सक्नु सबै कार्यक्रममा सहभागिताको सफलताको उदाहरण भएको बताउनु हुँदै आफू नेपालीमूलकी मेयर हुनुमा अत्यन्तै गर्व महसुस गरेको जानकारी दिनु भयो।

कार्यक्रम अत्यन्तै सफलतापूर्वक र सुरक्षित साथ सपन्न भएको परति पनि मेयर गुरुङले कार्यक्रम सफल बनेको गतिलो उदाहरण बनेको बताउनु भयो। मेडवे अत्यन्तै सुन्दर र भ्रमण योग्य रहेको जानकारी दिनु हुँदै मेयर काउन्सिलर श्रीमती निना गुरुङले सबैलाई मेडवे भ्रमण गर्न निम्तो दिनु भएको छ। “मेडवे अत्यन्तै हरियाली र भ्रमण गर्दै हेर्न लायक शहर हो यहाँ आएर भ्रमण गरेर आनन्द लिन म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु।” भन्नु भयो।

गोर्खा नेपाली समाज मेडवेका सल्लाहकार शिवराम राईले आफूले १४ बर्ष उमेरदेखि नाच्दै आएको साकेला युकेको रोचेस्टर स्विप्स महोत्सबसम्म नाच्न पाउनु आफैमा गर्वको कुरा भएको बताउनु भयो। उभौली पनि नजिक आईरहेको बेला यहाँ साकेला नाच्न पाउनु अत्यन्तै संयोग र खुशीको कुरा हो भन्दै खुशी व्यक्त गर्नु भयो।

साकेला संयोजक श्रीमती चन्द्रावती राईले गैरराई र पहिलो पटक सिकेर छोटो समयमा पनि राम्रो साकेला प्रस्तुत गर्न सघाउने सबैलाई धन्यबाद दिंदै साकेला देखाउन पाउनु साँस्कृतिक प्रदर्शनी स्थलमा अत्यन्तै खुशीको कुरा हो भन्नु भयो।

ब्यांक होलिडेको लामो सप्ताहान्तको ३ दिने महोत्सवमा बिभिन्न ब्याण्डहरुले आफ्नो गीत संगीत प्रस्तुत गरेका थिए। विभिन्न पेय, खानाको स्टलदेखि बिबिध सामाग्रीका स्टलहरुमा सहभागीहरुले मज्जाले किनमेल समेत गरेका थिए।

भर्खरै तातो मौसमको शुरुवात मै आयोजना भएको रोचेस्टर स्विप्स फेस्टिभलमा युकेका मात्र नभएर विश्व भरिबाट महोत्सवमा सहभागी हुन् आउने गर्दछन। ६० हजार बढी सहभागीहरुले ३ दिनको महोत्सबमा सहभागिता जनाएको आँकलन गरिएको छ। मेयर काउन्सिलर श्रीमती निना गुरुङले समापन समारोहमा मन्तब्य दिनु हुँदै कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न खटिएका सम्पूर्णलाई धन्यबाद दिंदै बधाई ज्ञापन गर्नु भयो। महोत्सबबाट फर्किएपछि आगामी महोत्सबमा सहभागी हुन आफ्ना आफन्त मित्रहरुलाई महोत्सवका बारेमा जानकारी दिन पनि आग्रह गर्नु भयो। प्रवेश निशुल्क रहेको महोत्सवमा मनोरंजन लिंदै आफ्नो छुट्टी मनाउन परिवार हित भेला हुन उहाँको आग्रह रहेको थियो। सयौं मोरिस नर्तकहरु, कलाकार, कार्यक्रम संयोजक, संघ संस्था, आकस्मिक सेवा प्रदायक, व्यापारीहरु, व्यवसायीहरु र स्थानीयसहित अन्तर्राष्ट्रिय सहभागीहरुको हुटिङसहित मेयरद्वारा कार्यक्रम समापन भएको थियो।

स्विप्स फेस्टिभलका शुरुवात कर्ता गोर्डन न्युटनलाई मायाको चिनो दिंदै कार्यक्रम सफलताको बधाई दिंदै कार्यक्रम शुरु गरेको प्रति मेयरले धन्याबाद ज्ञापन गर्नु भयो।

सन् १९८१ सालमा गोर्डन न्युटनले रोचेस्टर स्विप्स महोत्सबको शुरुवात गरेका थिए भने हरेक बर्ष मेडवे काउन्सिल सँगको सहकार्यमा यो महोत्सव आयोजना हुने गरेको छ।

स्विप्स ब्रिटिश मौसमको गर्मीको शुरुवातको प्रतिक हो, जस्लाई चिम्नी स्विप्स र मोरिस नर्तकहरुले रमाउंदै स्वागत गरेका थिए।

-भुमिराज राई
मेडवे केन्ट





Comments

comments

115940