कोलोराडोमा नेपाली भाषा पाठशाला शुरू

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। कोलोराडो राज्यको अरोरामा र वेष्टमिनिष्टरस्थित नेपाली घरमा नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ।

अरेराको पाठशाला साना भाइ लहन शाक्यले रिवन काटेर पाठशालाको औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स-साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले बिगत ५ वर्षदेखि निरन्तरता दिंदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारीले यस वर्ष स्कूल सञ्चालनमा सहयोगी नियमित तथा अतिथि शिक्षक/शिक्षिकाहरू एवं स्वयं सेवक/सेविकाहरूको परिचय गराएका थिए । अनेसासले गत वर्षदेखि यो स्कूल चलाउन सघाउँदै आएको छ भने उत्तरी क्षेत्रका लागि दिदीबहिनी समूहलगायत अन्य सामाजिक संस्थाहरूको सहयोगमा नेपाली घरमा विगत ३ वर्षदेखि नेपाली भाषा सञ्चालन गरिदै आएको छ।

अरोरा पाठशालाको शुरू दिनमा उद्घाटनसँगै विद्यार्थी भर्ना, सामान्य Assessment Test र विद्यार्थीलाई पाठ्य सामग्री सहितको फोल्डर वितरण गरिएको थियो । आज नेपाली भाषा पाठशाला अरोरामा जम्मा ३५ जना बालबालिकाको भर्ना गरियो भने थप दश जना अर्को हप्ताबाट जोडिने स्कूल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य राजेन्द्र सिग्देलले बताएका छन्।

त्यस्तै गरेर नेपाली घरमा शुरू गरिएको पाठशालामा ४८ जना बाल बालिकाहरू भर्ना गरिएको र थप ८ जना पनि जोडिने अनेसास कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले बताएका छन्।

 





Comments

comments

118225