यौनधन्धाका लागि भारत पुर्‍याइएकी युवती भागेर घर फर्किन्

२६ चैत, कञ्चनपुर । जागिरको प्रलोभन दिएर भारतीय सहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन्।

दोधारा चाँदनी नगरपालिकाकी ती युवती भारतको कर्नाटक, बैङलोर, अन्तर्राष्ट्रिय बिमानस्थल, हेचल मुकेशपाली एप्पल नेस्ट १३ क्रस १४ बाट भागेर आएकी हुन् । दोधाराका शङ्कर धामीले विसं २०६६ मा राम्रो जागिर दिने आश्वासन दिएर बैङलोर लगेका थिए । घरको कमजोर आर्थिक अवस्था भएकाले छिमेकी धामीको प्रलोभनमा परी उनी कक्षा ८ को पढाइ छाडेर १२ वर्षको उमेरमा भारत गएकी हुन्।

बैङलोर पुगेर एक सातापछि घरमा भाँडाकुँडा सफा गर्ने काममा लगाएको एक महिनापछि यौनधन्दाका लागि बाध्य पारिएको थियो । १४ घरमा भाँडाकुँडा सफा गरी मासिक २३ हजारसम्म कमाई हुने गरेको उनले बताइन् । “उनी आफैँले मेरो पैसा बुझेर लग्थे, दिनरात मालिकको ओछ्यानमा लगेर शङ्करले छाडेर आउने र बिहानपख लिन आउने गर्थे”, पीडित युवतीले भनिन्।

ट्रक चलाउने शङ्करले नै सो धन्दा बापतको रु १० हजार रकम लिने गरेको उनले बताइन् । मालिकको घरमा लैजाँदै गर्दा शौचालय जाने बहाना बनाएर भागेर आएको उनले बताइन् । कैलालीको धनगढीका युवाको सहयोगमा वनबासासम्म आइपुगेको उनको भनाइ छ।

यसैबीच, माइती नेपाल कञ्चनपुरले झोलुङ्गेपुल नदीको दुवै छेउका बस्तीमा घरदैलो अभियान सञ्चालन गरेको छ। मानव तस्करले झोलुङ्गेपुलबाट मानव ओसारपसार गर्न थालेपछि स्थानीयवासीलाई सचेत बनाउन घरदैलो गरिएको हो। (रासस)





Comments

comments

Leave a Reply

11905