Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पमा २२ घण्टा पुरिएका सोनिसको एक वर्ष

भक्तपुर- भूकम्प गएको बेला बामे सर्न पनि नसक्ने सोनिस कुद्‌न सक्ने भएका छन् । त्यसबेला रुन र हाँस्न मात्रै जान्ने उनी तोतेबोलीमा बाबा-मामा भन्न थालेका छन् ।

घरको भग्नावशेषभित्र २२ घन्टापछि ६ महिने सोनिसलाई जीवितै पाउँदा भूकम्पले ध्वस्त उनका बाबा-आमाको मन जसरी जोडिएको थियो, ढलेको घर भने वर्ष दिन पुग्दा पनि ठडिएको छैन ।

धुलैधुलोले पुरिएका सोनिस अवाल नेपाली सेनाले उद्धार गरेसँगै संसारभर एकाएक ‘सेलिब्रिटी’ बने । वर्षदिन पुग्दा अवाल परिवारले घरको भग्नावशेष पन्छाएको छ तर छोरो कसरी हुर्काउने ? जीवन कसरी धान्ने भन्ने पिरलोले भक्तपुर नगरपालिका ४ मूलढोकाका श्याम अवाल र रमिला अवाललाई पनि पछ्याइरहेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

भुइँचालोलाई जित्ने शिशु सोनिसको परिवारको पीडा पनि भूकम्प बेहोरेका आम नेपालीकै जस्तो साझा छ । गएको वैशाख १२ को भूकम्पमा घर ध्वस्त हुँदा श्याम-रमिलाका ६ महिनाको छोरा सोनिस र १३ वर्षकी छोरी सोनिया घरभित्रै पुरिएका थिए।

भूकम्पलगत्तै खटिएका सुरक्षाकर्मी र स्थानीयले सोनियाको जीवितै उद्धार गरे तर सोनिस फेला परेनन्। भूकम्प गएको एकदुई घन्टा होइन, २० घन्टा हुँदा पनि सोनिसको अत्तोपत्तो लागेन ।

सुरक्षाकर्मीले पटकपटक भूकम्पले भत्काएको घरको भग्नावशेष पन्छाउँदा पनि सोनिस नभेटिएपछि आमा रमिला र बुबा श्यामको मन ठाउँमा थिएन । ‘छोरा नभेटिँदासम्म म त अर्धमूर्छितजस्तै भएछु । होस छैन भनौं होस छ तर कुनै सम्झना छैन’, सोनिसकी आमा रमिलाले भनिन्, ‘आँखाभरि छोरा मात्रै देखें । दिमाग र मनले पनि छोरालाई मात्रै झलझली सम्झिरहेको थियो।’

छोरा नभेटिएसम्म बाँचेको भए हुन्थ्यो भन्ने कुरा मात्रै आफ्नो दिमागमा खेलिरहेको उनले सुनाइन् । ‘छोरा नभेटिएको र भूकम्प पनि नरोकिएकाले अब हामी पनि मर्ने भयौं भन्ने तर्कनासमेत मनमा आउँथ्यो’, रमिलाले थपिन्।

त्यही घरमा आफ्ना दुई भतिजीले पनि ज्यान गुमाएकाले आफ्नो छोरा पनि जीवित होला भन्ने उनलाई आशा थिएन । सुरक्षाकर्मी घन्टौंको खोजीमा पनि सोनिस नभेटिँदा हरेस खान्थे । उद्धारमा खटिएका सुरक्षाकर्मी ‘अब सोनिस भेटिँदैन। बाँच्ने सम्भावना पनि छैन’, भन्दै उद्धार रोक्थे ।

यसो भनेको सुन्दा रमिलाको आँखाबाट आँसु बगिरहन्थ्यो । सुरक्षाकर्मी काम रोकेर अघि बढ्न नपाउँदै सोनिस रोएको आवाज सुनिन्थ्यो । बच्चा रोएको सुनेपछि सुरक्षाकर्मी ‘यसले त हामीलाई नछाड्ने भयो। बोलाएको छ, बोलाएको छ’ भन्दै फेरि उद्धारमा खटिन्थे ।

२२ घन्टाको अथक खोज तथा उद्धारपछि सुरक्षाकर्मीले सोनिसलाई जीवित भेट्टाए धुलाम्मे र बायाँ तिघ्रामा घाउ भएको अवस्थामा । सोनिस भेटिएपछि रमिलाका आँखा पुनः रसाए । आँसु भन्ने अनौठो चीज रहेछ दुःखमा पनि बग्ने, खुसीमा पनि बगिहाल्ने ।

‘छोरा भेटिएपछिको अनुभूति मैले अझसम्म व्यक्त गर्न सकेकी छैन’, उनले लामो सास लिएर भनिन्, ‘यसलाई म चमत्कार नै मान्छु ।’ सोनिसको तिघ्रामा आमा रमिलाले लुगा सिउन बस्ने फलामे मेचले घोच्दा घाउ भएको थियो।

तस्वीरः मिरर / डेलिमेल





Comments

comments

Leave a Reply

12141