सुदूरपश्चिम प्रदेशकी मन्त्री टीका थापा बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । मन्त्री थापाले सरकारको नीतिविपरीत काम गरेपछि मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिए ।

“प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो । उहाँ सरकारको नीतिविपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नुभएको हो,” उनले भने ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गरेको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ । अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित भएकी थिइन् । बर्खास्तमा परेकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य छिन् ।

प्रदेश सरकारबाट एमाले बाहिरिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । उनले संविधानमा भएको व्यवस्थ बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । रासस





Comments

comments

123243