बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ५० जनाको मृत्यु

तस्बिर : एएफपी

ढाका, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ।

प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द कारको छतमा नृत्य गरेका थिए । बारम्बार घातक कारबाहीका साथ अन्त्य हुने गरेका अघिल्ला महिनाको र्यालीहरूको विपरीत धेरै मामिलामा सैनिक र प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेनन् ।

प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् । देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन् ।

गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा हिंसा भएको महिनाका रूपमा हेरिएको छ । निजामती सेवामा आरक्षणको विरोधमा गरिएको आन्दोलनका क्रममा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियो अनुसार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बङ्गलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए ।

निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीहरूले जुलाईमा हिंसात्मकरूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भए पनि सरकारलाई कमजोर बनाउने उद्देश्यले गरिएको असयोग आन्दोलनअन्तर्गत यस महिना ठूलो सङ्ख्यामा भीड सडकमा फर्किएको छ ।

प्रहरी निरीक्षक अल हेलालले एएफपीलाई भन्नुभयो, “विद्यार्थी र सत्तारुढ दलका मानिसहरूबीच झडप भएको थियो । यसमा ढाकाको मुन्शीगञ्ज जिल्लामा दुई युवकको मृत्यु भएको छ । मृतकमध्ये एउटाको टाउकोमा चोट लागेको र अर्कोलाई बन्दुकको गोली लागेको थियो ।”

प्रहरी र चिकित्सकहरूले पनि ढाकाका अन्य ठाउँमा, उत्तरी जिल्ला बोगरा, पबना, रङ्गपुर र सिल्हेटका साथै पश्चिममा मागुरा, पूर्वमा कुमिल्ला, दक्षिणमा बरिशाल र फेनीमा पनि मृत्यु भएको रिपोर्ट गरेका छन् ।

यहाँका केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सामेल भएका छन् र पूर्वसेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको आफ्नो फेसबुक प्रोफाइल रातो बनाउनुभएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।

जनआन्दोलनमा फिल्म स्टार, सङ्गीतकार र गायकहरूसहित बङ्गलादेशी समाजका सबै तहका नागरिक सहभागी भएका छन् । जनताको समर्थनको आह्वान गर्ने र्याप गीतहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् । रासस/ एएफपी





Comments

comments

123743