डीसीमा नेपालको दुर्लभ तस्वीर प्रदर्शनी

विजय थापा –
वाशिंगटन डिसीस्थित नेपाली दूतावासमा नेपालका चर्चित फोटोग्राफर किरणमान चित्रकारसहित चार पुस्ताले खिचेका दुर्लभ तस्वीररहरु प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनमा राखिएका दुर्लभ तस्वीररहरुको अवलोकन गर्दै बिदेशी तथा नेपाली दर्शकहरुले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

दूतावासले गत १५-१६ ,२०२४ (बिहिबार र शुक्रबार)का दिन वाशिङटन, डीसीमा ‘नेपाल–अमेरिका सम्बन्ध: चित्रकार लेन्समार्फत साझेदारी’ शीर्षकमा दुई दिने तस्वीर प्रदर्शनी आयोजना गरियो।

प्रदर्शनीको उद्घाटन कार्यवाहक राजदूत कुमारराज खरेलले गरेका थिए । प्रदर्शनीमा अमेरिकी विदेश बिभागका उपसहायक सचिव (डीएएस) निकोल चुलिक, युएसएआईडीका उपसहायक प्रशासक (डीएए) अञ्जली कौर, विदेश विभागका अन्य अधिकारीहरू र अतिथिहरूको उपस्थित रहेको थियो ।

समारोहमा अन्य अमेरिकी एजेन्सीहरू, नेपालका लागि पूर्व अमेरिकी राजदूतहरू र नेपाली-अमेरिकी समुदायका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

प्रदर्शनीमा नेपाल सरकारका पूर्व आधिकारिक फोटोग्राफर किरणमान चित्रकार, उनका हजुरबुवा दिर्घमान चित्रकार, उनका बुबा गणेशमान चित्रकार र उनका छोरा स्वराजमान चित्रकारले खिचेका नेपाल-अमेरिका सम्बन्धसँग सम्बन्धित कूल ३५ वटा छनोट गरिएका ऐतिहासिक तस्बिरहरू राखिएका थिए।

तस्बिरहरू किरणमान चित्रकारकी छोरी र कला इतिहासकार क्रिस्टीना चित्रकारले लेखन तथा प्रवन्ध गरेकी हुन्। अतिथिहरूलाई स्वागत गर्दै खरेलले नेपाल-अमेरिका सम्बन्धका महत्वपूर्ण ऐतिहासिक क्षणहरूलाई प्रकाश पारे।

किरणमान चित्रकारको कामको प्रशंसा गर्दै डीएएस चुलिक र डीएए कौरले नेपाल र अमेरिकाबीचको निकट र लामो समयदेखिको बहूपक्षीय द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा प्रकाश पारे।

पहिलो दिन अगस्त १५ बिहीबारका दिन प्रदर्शनीमा कुटनैतिक तथा संघीय /सरकारी कार्यालयमा कार्यरत अधिकारीहरुलाई आमन्त्रित गरिएको थियो । नेपाल र संयुक्त राज्य अमेरिका बीचको ऐतिहासिक सम्बन्ध झल्काउने तस्बिर प्रदर्शनीको उद्घाटन समारोह साँझ बेलुकी ६ देखि ८ बजेसम्म राजदूत निवासमा सम्पन्न गरियो । दोश्रो दिन अगस्त १६,शुक्रबारका दिन दिउसो ३ बजे देखि ६ बजे सम्म खुला गरिएको थियो ।

प्रदर्शनीमा उनीहरुका हजुरबुवा र बुवा दरवारका चित्रकार (रोयल पेन्टर) र कोर्ट फोटोग्राफर(सरकारी छायाचित्रकार) दीर्घमान चित्रकारले खिचेका ऐतिहासिक तस्विरहरू प्रदर्शनमा राखिएका थिए ।

उक्त प्रदर्शन मार्फत नेपाल र अमेरिका दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको परिचय तथा सम्बन्धको बारेमा अझ जानकारी प्राप्त गर्न सकियोस भन्ने हेतुले आयोजना गरिएको हो।





Comments

comments

125093