अपाङ्ग सिङ्गिङ आइडल – २०१६ हुने

राम ढुंगेल / एचकेनेपाल डट कम –
शारीरिक रुपमा अपांगहरुको गायन प्रतिभा प्रस्फुटनको लागि ‘अपाङ्ग सिङ्गिङ आइडल–१०१६ आयोजना हुने भएको छ । अपाङ्ग व्यक्तिहरुलाई सामेल गराई नेपालमै पहिलो पटक देशव्यापी रुपमा उक्त प्रतियोगिता हुन लागेको हो।

देशका पाँचै विकास क्षेत्रका मुख्य शहरहरुमा छनौट राउन्ड गरिनेछ भने फाइनल राउन्ड काठमाडौंमा हुनेछ । कार्यक्रम सम्पन्न गर्न जोडदाररुपमा लागि परेका विश्व साइकलयात्री चित्र पौडेलका अनुसार उक्त प्रतियोगिता असारको अन्त्यसम्ममा सम्पन्न गरिनेछ । उनै पौडेल यस प्रतियोगिताको संयोजकका काम गरिरहेका छन् । पोलियो प्रभावित विश्वकै एकमात्र अपांग साइकलयात्री पौडेलले अहिलेसम्ममा करिब ५५ देशहरु भ्रमण गरिसकेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ । साथै प्रथम हुनेलाई विभिन्न गिफ्ट ह्याम्पर, गीगि एल्बम साथै विभिन्न चलचित्रमा गीत गाउने अफर प्रदान गरिने बताइएको छ ।

उक्त प्रतियोगितालाई गायक राजेशपायल राईलगायतका चर्चित कलाकारहरुले निर्णायकको भूमिका निर्वाह गरी अपांगहरुको गायन क्षमतालाई मूल्यांकन गर्नेछन् ।

नेपालयात्रा साप्ताहिकका दिनेश कार्कीले मिडिया संयोजकका रुपमा काम गरिरहेको उक्त प्रतियोगिता नेपालको सन्दर्भमा विल्कुल नयाँ प्रयोग हुने दाबी गरेका छन् ।

रिस्क्यु क्रियसनको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता अपाङ्गता भएकाहरुको सिर्जनशील क्षमतालाई प्रस्फुटन गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको रेस्क्यु क्रियसनका अध्यक्ष समन अधिकारीले जानकारी दिएका छन् । उक्त प्रतियोगिताको बजार व्यवस्थापन गरिरहेका नेपाल होचापुड्का संघका अध्यक्ष विष्णुलाल गुरुङले यस कार्यक्रमले अपांगहरुको प्रतिभाको सम्मान हुने र उनीहरुलाई समाजले हर्ने नजरमा सकारात्क परिवर्तन आउने बताएका छन् ।

अपांगहरुलाई माया भन्दा पनि अवसरको खाँचो छ भन्ने मान्यताका साथ गर्न लागिरहेको यस प्रतियोगिताको सफलताको लागि केही व्यावसायिक संस्थाहरुले सहआयोजकका रुपमा काम गर्न इच्छा देखाएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिएका छन् ।

यस अघि एल्बम निकालेका अपाङ्ग व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छैनन् भने अन्यले सहभागिता जनाउन ५ सय रुपैयाँको फारम भर्नु पर्नेछ । साथै अपाङ्ग परिचयपत्र अनिवार्य समावेश गर्नु पर्ने बताइएको छ।





Comments

comments

Leave a Reply

12538