बाराही हस्पिटालिटीका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

काठमाडौं, बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन्। गत वर्षबाट सञ्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चार तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रूपमा गोल्ड अवार्ड पाएको छ।

यस्तै, पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ। माछापुच्छ्रेको छायाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, सितल मौसम र उत्कृष्ट आतिथ्यताले सारङकोट माउन्टेन लजलाई प्रसिद्ध बनाएको छ।

निकुञ्ज भित्रका होटलको झल्को दिने पर्यावरण मैत्री बाराही जंगल लजले लिडिङ वाइल्डलाइफ रिसोर्टको अवार्ड प्राप्त गरेको छ। चितवनको मेघौलीमा रहेको सो लज ‘लिजर टुरिजम’का लागि उत्कृष्ट गन्तव्य हो।

यस्तै, पोखराको नौ नम्बर स्ट्रीटमा रहेको होटल ‘आवास पोखरा’ले ४० भन्दा कम रुमको लिडिङ सिटी होटलको अवार्ड पाएको छ। रुफटप बार, इन्फिनिटी स्विमिङपुल सहितको यो होटल बजेट फ्रेन्ड्ली ग्राहकको रोजाइमा पर्ने गरेको छ।

हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले अवार्ड प्राप्त गर्न सफल भएको कारण भनेका छन् कि यो आफ्ना कर्मचारीहरूको उत्कृष्ट अभ्यासको परिणाम हो। साटाका संस्करणहरू दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइरहेको छ। यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ र हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ। कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो।





Comments

comments

126363