दोहोरी साँझ कार्यक्रम: नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा आयोजना हुंदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा पहिलो पटक दोहोरी साँझ कार्यक्रम आयोजना हुने भएको छ।

कोलोराडोमा सक्रिय संस्था नेपाली घरको आयोजनामा चर्चित कलाकारहरू चन्द्र शर्मा र अमृता लुंगेली मगरको उपस्थितिमा लोक दोहोरी साँझ कार्यक्रम आयोजना हुन लागेको हो। कलाकारहरूलाई सुष्मिता विश्वास लगायत स्थानीय कलाकारहरूले भाका छोप्न साथ दिने भएका छन्।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आगामी सेप्टेम्बर २८ तारिख शनिबार साँझ ५ बजेदेखि ९ बजेसम्म आयोजना हुने लोक दोहोरी साँझ कार्यक्रममा टिकट बिक्री र दाताहरूबाट प्राप्त स्पोन्सरबाट संकलित रकम सञ्चालन खर्च कटाएर बाँकी रहेको सबै नेपाली घरको खातामा जम्मा हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्। कलाकारहरूले कुनै पारिश्रमिक नलिने र कलाकारहरूलाई अन्य स्टेटबाट कोलोराडोसम्म आउने र जाने विमान टिकट शुल्क नेपाली घरका आई.टी. अफिसर सुरेश रेग्मीबाट सहयोग प्राप्त भएको अध्यक्ष लम्सालले बताएका छन्। डिनरसहित कार्यक्रममा सहभागी हुन ३५ डलर शुल्क राखिएको र १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था भएको अध्यक्ष लम्सालले बताएका छन्।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको पार्किङ लट, पर्खाल र बिजुलीका पोलहरूको निर्माण तथा मर्मत सम्भारका कामहरू धमाधम भइरहेको र यस काम सकिने बित्तिकै ठेकेदारलाई पैसा दिनुपर्ने भएकोले आर्थिक सहयोग संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको नेपाली घरका पूर्व अध्यक्ष तथा समाजसेवी लछुमन रानाले बताएका छन्।

त्यसैले कार्यक्रमलाई व्यापक रूपमा प्रचारप्रसार गरी टिकट बिक्री तथा स्पोन्सर खोज गरिदिई धेरैभन्दा धेरै सहयोग जुट्ने वातावरण सृजना गरिदिनुहुन कोलोराडोमा रहेका संघसंस्थाका पदाधिकारी, समाजसेवी, व्यवसायी लगायत सबै नेपाली भाषी बुबा, आमा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरिएको संस्थाका निवर्तमान अध्यक्ष जगदीशचन्द्र ढकालले बताएका छन्।

कार्यक्रमको टिकट अनलाइनबाट पनि काट्न सकिने छ। कार्यक्रमलाई सफल पार्न गजेन्द्र कार्की, निश्मा गुरुङ लगायतका दाताहरूबाट स्पोन्सर प्राप्त भइसकेको संस्थाका महासचिव भोला कटुवालले बताएका छन्।

Lok Dohori Sanjh- Colorado





Comments

comments

126420