गण्डकी प्रदेश सरकारद्वारा बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँको सहयोग घोषणा

पोखरा। गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकहरूको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। यसैसाथ प्रदेशमा भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष समिति गठन गरिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम हस्तान्तरण गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए। उनले भने, “विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको छ। यस विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने उद्देश्यले प्रदेश सरकारले यो सहयोग गर्ने निर्णय गरेको हो।”

बैठकले हालैको वर्षाले निम्त्याएको बाढी पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो। प्रदेश सरकारले विपद् प्रभावित नागरिकहरूको उद्धार, उपचार, राहत, र पुननिर्माणका कार्यमा संघीय सरकारसँग निरन्तर समन्वय गर्ने जनाएको छ।

गण्डकी प्रदेशभित्र विपद्ले पुर्‍याएको क्षतिको अध्ययन गर्न एक समिति गठन गरिएको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा गठित यस समितिमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहेका छन्।

समितिले प्रदेशभर विपद्ले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी काम सुरु गरेको १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ।





Comments

comments

126660