नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले संयुक्त रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाएका छन्।
केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा तथा वरिष्ठ साहित्यकार प्राध्यापक डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइएको हो।
कार्यक्रम प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरेर शुरु गरिएको थियो। नेपाली भाषा पाठशालाका विद्यार्थीहरूले नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरेका थिए। देवकोटाको तस्विरमा पुष्पार्पण गरी कार्यक्रम अगाडि बढाइएको थियो।
प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे प्रकाश पार्दै प्रवासी स्रष्टाहरूले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका थिए।
त्यसैगरी सभापतिको आसनबाट बोल्दै अध्यक्ष वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली स्रष्टाका हरेक कृतिलाई हजारौँ वर्षसम्म सुरक्षित राख्ने अभियान अगाडि बढाउने योजना रहेको खुलासा गरे।
बोर्ड अफ ट्रस्टीजका सभापति पदम विश्वकर्माले देवकोटा जयन्ती र भानु जयन्ती विशेष कार्यक्रम गरी मनाउने परम्परालाई विगत ३० वर्षदेखि नै निरन्तरता दिँदै प्रवासमा भाषा साहित्यलाई दोस्रो तेस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यमा अनेसासले नै नेतृत्व गरिरहेको तथ्य प्रस्तुत गरेका थिए।
केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले देवकोटाको साहित्यिक योगदानबारे चर्चा गर्दै कवितामा जत्तिकै महाकविले योगदान निबन्धमा पनि दिएको तथ्य औँल्याए। केन्द्रीय कार्यसमिति उपाध्यक्ष (अमेरिका क्षेत्र) सुदीपभद्र खनाल, बिओटी कोषाध्यक्ष नेत्रबन्धु पोखरेल तथा पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले देवकोटा जयन्तीबारे छोटो मन्तव्य व्यक्त गर्दै आ-आफ्नो रचना वाचन गरे।
यसैगरी, साहित्यकार मिलन कोइरालाले प्रमुख अतिथि डा. बरालको गीत, गजल र समालोचनाको क्षेत्रमा दिएको योगदान र महाकवि देवकोटाको जीवनीबारे प्रकाश पारे। देवकोटाप्रति विभिन्न कवि, गजलकार र गायकहरूले आ-आफ्ना रचना वाचन तथा गायनद्वारा श्रद्धाञ्जली अर्पण गरे।
रचना वाचन र गायन प्रस्तुत गर्नेहरूमा भूपेन्द्र महत, देव भट्टराई, सिर्जना अर्याल, रमेश गुरुङ, श्री पोखरेल, मनोजकाजी तुलाधर, मनोजराज शिवाकोटी, लाल चौलागाईं लगायत थिए।