हङकङमा जापानी अभिनेत्रीहरूलाई वेश्यावृत्तिमा लगाउंने गिरोह पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ नोभेम्बर। हङकङ प्रहरीले बिहीबार एक संदिग्ध वेश्यावृत्ति चक्रसँग सम्बन्धित विभिन्न आरोपहरूमा ६५ जनालाई गिरफ्तार गरेको जानकारी दिएको छ।

अधिकारीहरूका अनुसार, एक गिरोहले जापान, थाइल्याण्ड, लाओस र भियतनाम लगायतका देशहरूबाट यौनकर्मीहरूलाई हङकङमा ल्याउने व्यवस्था गरेको विश्वास गरिएको छ।

प्रमुख निरीक्षक ट्याङ होइ-तुङले बताए अनुसार ६५ जनालाई वेश्यावृत्तिको कमाइमा जीवन निर्वाह गर्ने, मनी लन्डरिङ, अनैतिक प्रतिष्ठान सञ्चालन गर्ने र हङकङमा बसाइँको शर्तहरू उल्लंघन गरेको आरोपमा गिरफ्तार गरिएको छ।

हङकङ प्रहरीले जापानी महिलाहरू, विशेषगरी जापानी एडल्ट भिडियोका अभिनेत्रीहरूलाई यौन सेवा प्रदान गर्न लगाउंने एक गिरोहमाथि कारबाही गरिएको जनाएको छ।

पक्राउ परेकाहरुमा १७ देखि ६४ वर्ष उमेर समूहका ६० महिला र ५ पुरुष छन्। जसमा गिरोहका ११ जना कथित मुख्य व्यक्तिहरू समावेश छन्।

प्रहरीका अनुसार, प्रत्येक यौन सेवाको शुल्क हजारौं डलरदेखि १५०,००० हङकङ डलरसम्म रहेको थियो। बुझिए अनुसार, यौनकर्मीहरूले भुक्तानी प्राप्त गरेपछि वेश्यावृत्ति गिरोहले रकमको लगभग आधा हिस्सा लिने गरेको थियो।

गिरोहका तीन प्रमुख व्यक्तिहरूलाई १९ मिलियन हङकङ डलरको शंकास्पद आयसहित मनी लन्डरिङको आरोपमा गिरफ्तार गरिएको छ।

कानून प्रवर्तकहरूले १८ मिलियन हङकङ डलरको अपराधजन्य आयको हस्तान्तरण रोकेको र चार आवासीय सम्पत्तिहरू पनि जफत गरेको जनाएको छ।

सिंगापुरमा पनि स्थानीय अधिकारीहरूले वेश्यावृत्ति गिरोहको एक सदस्य र तीन जापानी यौनकर्मीहरूलाई गिरफ्तार गरिएको जनाएको छ।





Comments

comments

127846