एमालेको लोकप्रिय बजेटपछि कांग्रेसी नेताहरु आफ्नै पूर्व अर्थमन्त्री महतमाथि यसरी खनिए

मुलुकमा सबैभन्दा बढी अर्थमन्त्री हुने भाग्यवानी नेतामा पर्छन्, कांग्रेस नेता रामशरण महत । खुला अर्थतन्त्रका हिमायती मानिने महत कांग्रेसबाट ६ पटक मन्त्री भए । कांग्रेसमा महेश आचार्यपछि निरन्तर अर्थमन्त्री बन्ने अवसर पाए पनि महतले पार्टीभित्र भने कहिल्यै लोकप्रिय छवि बनाउन सकेनन् ।

‘महतले खुला अर्थतन्त्रको नाममा समाजवाद उन्मुख कार्यक्रम दिन नसकेको पार्टीभित्रै आलोचना छ,’ महतको अर्थमन्त्री कालको अनुभव सुनाउँदै कांग्रेसका एक नेताको तिखो टिप्पणी छ, ‘उहाँले आफ्नो कार्यकालभर मुलुकको अर्थमन्त्री आफैंमात्रै भइराख्छु र आफ्नै ढुकुटीबाट रकम बाँड्नुपर्ने हो जस्तो व्यवहार देखाउनुभयो । जसका कारण पार्टीभित्र आलोचना हुने गरेको हो ।’

यतिखेर उनी अर्थमन्त्री छैनन् । तर, पार्टीभित्र उनै आलोचनाका प्रमुख पात्र बनिरहेका छन् । एमाले नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटप्रति कांग्रेस नेताहरूको सैद्धान्तिक रूपमा विरोध छ । तर, वास्तविक विरोधको प्रहार भने पार्टीको पूर्ववर्ती सरकारका अर्थमन्त्री महतप्रति बढी लक्षित देखिएको छ ।
आइतबारको काग्रेस संसदीय दलको बैठकमा उनै महतप्रति धेरै सांसद खनिएका थिए । कांग्रेस नेतृत्वको सरकारका बेलामा सामाजिक सुरक्षाका कार्यक्रमप्रति असहिष्णु भएको भन्दै महतको आलोचनामा धेरै सांसदले लामो समय खर्चिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत सामाजिक सुरक्षामा तत्कालीन सरकारको ध्यान नपुगेको भन्दै महतको आलोचना गरे । ‘मृगौला, क्यान्सर जस्ता गम्भीर प्रकृतिका रोगको उपचार नि:शुल्क गर्ने व्यवस्था गरांै भनेर मैले भन्दा महतजीले मान्नु भएन,’ सिटौलाको भनाइ थियो ।

सांसद रामहरि खतिवडाका अनुसार बाहिर बजेटलाई यस्तो र उस्तो भनेर विरोध गरे पनि आफ्नै सरकारका बेला तत्कालीन अर्थमन्त्रीको असहिष्णु नीतिका कारण पार्टी र सांसदहरू नै अप्ठ्यारोमा पर्ने गरेको धारणा कांग्रेसका अधिकांश सांसदहरूको छ । ‘सामाजिक सुरक्षामा दिएको बजेटको जनतामाझ विरोध गर्न अप्ठ्यारो पर्छ,’ खतिवडाले भने, ‘वरिष्ठ त्यसमा पनि अनुभवी नेता अर्थमन्त्री भएका बेला पनि किन असफल भइयो भन्नेबारे पार्टीभित्र जवाफ दिनुपर्छ भनेर आवाज उठेको हो ।’

अर्का सांसद कमल पंगेनीले सामाजिक सुरक्षा भत्ता बढाउँ भन्दा तत्कालीन अर्थमन्त्री महतले नमान्दाको परिणाम अहिले पार्टीले बेहोर्नुपरेको बताए । ‘अहिलेको बजेटले मुद्रास्फीति बढाएर महँगी बढाउँछ भनेर विरोध गर्न गाह्रो भएको छ,’ उनले भने, ‘जनतालाई प्राविधिक कुराको मतलब हुँदैन । राहत कति पाइयो/पाइएन भन्ने चासो हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ।

पार्टीभित्रै व्यापक आलोचना बढेपछि महतले मंगलबार व्यवस्थापिका संसदमा प्रस्टीकरण दिएका थिए । पार्टीभित्रै आफ्नै साथीहरूले कुरा नबुझेको भन्दै महतले संसदमा बजेटलाई बेलुनको संज्ञा दिए । अहिले बढाइएका सामाजिक सुरक्षा र केही कल्याणकारी नीतिहरू आफ्नै कार्यकालमा सुरु भएको भन्दै बचाउसमेत गरे । ‘आफनै पार्टीभित्रका साथीहरूले सोधे, उहाँहरूले कुरा बुझ्नु भएको छैन । बजेटका कतिपय व्यवस्था मेरै पालामा आएका हुन् । अहिलेको सरकारले निरन्तरता दिएको मात्रै हो,’ पूर्वअर्थमन्त्री महतले भने, ‘वृद्धा भत्ता बढाउने, सांसद कोषको रकम वृद्धि गर्ने, डाक्टरलाई छात्रवृत्ति दिनेजस्ता विषय मेरै पालामा आएका हुन् ।’





Comments

comments

Leave a Reply

12827