नामद्वारा नाटक महोत्सव बहिष्कार

एचकेनेपाल डट कम संवाददाता –
नेपाल सरकारको नाटक गर्ने आधिकारिक निकाय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवलाई नाट्यकर्मी महासंघले बहिष्कारको घोषणा गरेको छ । महासंघ नेपालभरिका नाट्यकर्मीहरुको छाता संस्था हो ।

महासंघका महासचिव नाट्यकर्मी राजेन्द्र रिमालले एक विज्ञप्ति प्रकाशित गरेर महोत्सव बहिष्कारको घोषणा गर्दै देशभरिका नाट्यकर्मीहरुलाई बहिष्कार गर्न आव्हान गरेका छन् ।

नाटक महोत्सवमा सबैले भाग लिन नसकुन् भनेर सहभागिताका लागि पर्याप्त समय नदिई वास्तविक नाट्यसंस्थाहरुलाई पाखा लगाउने षडयन्त्र गरेको महासंघको भनाई रहेको छ । साथै महोत्सवमा प्रतिष्ठानका आसेपासे र गोजीका संस्थाहरुले मात्र भाग लिन सक्ने गरी रातारात नयाँ नियम बनाईएको महासंघले विज्ञप्तिमा जनाएको छ ।

बहिष्कार बारे महासंघका अध्यक्ष विजय विस्फोटले अनियमितता र अपारदर्शिता विरुद्ध सबै नाट्यकर्मीहरु एकताबद्ध भएको जनाउंदै महोत्सवमा सदस्य नाट्य संस्थाहरु सहभागी भएमा कार्वाही गर्ने प्रतिक्रिया दिए ।

विज्ञप्तिको पूर्ण पाठ यस्तो रहेको छ —
प्रेस विज्ञप्ति

प्रकाशित मिति ः २०७३ जेठ २४ गते सोमबार

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा सार्वजनिक यही जेठ २६ देखि गर्ने भनिएको कथित राष्ट्रिय नाट्य महोत्सव प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा महासंघको हालै बसेको केन्द्रीय सचिवालय बैठकले उल्लेखित नाटक महोत्सवले राजधानी बाहिरका वास्तविक नाट्य संस्था र नाट्यकर्मीहरुलाई सहभागिताको मौलिक अधिकारबाट पाखा लगाउने कुनियत अनुरुप महोत्सवमा भाग लिन नाट्य संस्था दर्ता तथा नवीकरण भएको हुनु पर्ने जस्ता रातारात नयाँ र काइते नियम बनाएर तथा भागलिनका लागि पर्याप्त समय नै नहुने गरी सूचना प्रकाशित गरी आफ्नो खल्तीमा रहेका केही एनजिओ रूपी नाट्य संस्थाहरुलाई साथमा लिएर अनियमित, अपारदर्शी खेललाई वर्तमान नेत्रृत्वको प्रतिष्ठानले पनि बिगतको नेतृत्वजस्तै रंगकर्मीको नाममा ब्रम्हलूट गरिरहेकोले खबरदारी स्वरूप महोत्सव बहिष्कार गरेका छौं ।

राजेन्द्र रिमाल
केन्द्रीय महासचिव
नाट्यकर्मी महासंघ
नाम नेपाल





Comments

comments

Leave a Reply

12899