९१ वर्षीय गुरुङ रिले अनसनमा

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ३१ जेठ । प्रतिगामी संविधानको विरुद्ध आन्दोलनरत तमुवान संयुक्त संघर्ष समितिले संघीय गठबन्धनद्धारा काठमाडौंको खुल्ला मञ्चमा आयोजित रिले अनसनको ऐक्यवद्धता जनाउदै पोखराको चिप्लेढुंगा मानवअधिकार चोकमा आयोजित एक हप्ते रिले अनसनको आज सातौं दिन सोमवार १९ जना अनसन बस्नुभएको छ । जेठ २५ गतेदेखि शुरु गरिएको एक हप्ते अनसन भोलि एकदिनका लागि थप गरिएको तमुवान संयुक्त संघर्ष समितिले जनाएको छ ।

तमुवान संयुक्त संघर्ष समितिका राजनितिक संयन्त्रका सदस्य तथा संघीय समाजवादी फोरमका तमुवान इञ्चार्ज गणेशमान गुरुङको अगुवाईमा सोमवारको अनसनमा ब्रेज मेश्रों घान्द्रुक तमु समाजका सल्लाहकार ९१ वर्षिय मिनबहादुर गुरुङको सहभागीता रहेको छ । तमुवान प्राप्ति नहुञ्जेल हरेक आन्दोलनमा आफु सहभागी हुने वयोबृद्ध अनसनकारी मिनबहादुर गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिगामी संविधान मान्दैनौं, पहिचान र अधिकार छाड्दैनौ, संघीय गठबन्धनको २६ बुँदे माग पुरा गर, तमुवान प्रदेश घोषणा गर भन्दै जारी अनसनमा सोमवार गणेशमान गुरुङ, वयोबृद्ध मिनबहादुर गुरुङ, तमुवानका युवा अगुवा सन्देश गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सुवेदार नरबहादुर गुरुङ, सल्लाहकार सुवेदार मेजर मिनबहादुर गुरुङ, आमा अध्यक्ष रसकुमारी गुरुङ(तमुवान आमा), तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केसबहादुर तामाङ, तमुवान संयुक्त संघर्ष समितिका युवा नेता सुकबहादुर घले, पश्चिमाञ्चल इञ्जिनियरिङमा अध्ययनरत समाजवादी विद्यार्थी फोरमका पंकज राज यादव, अनिलकुमार झा, बगर तमु समाजका उपाध्यक्ष अम्वर गुरुङ, बगर तमु समाजका आमा अध्यक्ष गौमाया गुरुङसहित आमाहरु देउमाया गुरुङ, हरिमाया गुरुङ, हुमकुमारी गुरुङ, शान्ति गुरुङ, रामकुमारी गुरुङ, गंगाकुमारी गुरुङ, पुष्पा गुरुङ अनसनमा बस्नु भएको छ ।

अनसनकारीहरुलाई तमुवान संयुक्त संघर्ष समिति नेता, तमु धिं नेपालका पुर्व महासचिव देवीराज तमुले तमुवानको फेटा र खदा लगाएर शुभारम्भ गर्नुभएको थियो भने सचिव गजेन्द्र सुब्बाले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैविच अनसनको व्यवस्थापन र तमुवानको आन्दोलनलाई सफलताको कामना सहित आर्थिक सहयोगको क्रम जारी रहेको छ । अनसनमा रहनु भएको तमुवानकी आमा रसकुमारी गुरुङले १ हजार ५ रुपैया प्रदान गर्नुहुदै सोमवारको आर्थिक सहयोगलाई प्रारम्भ गर्नुभयो । सहयोगकै क्रममा अनसनकारी घान्द्रुक तमु समाजका अध्यक्ष सुवेदार नरबहादुर गुरुङले १ हजार ५ सय, सोमवारको अनसनका अगुवाई गरिरहनु भएका गणेशमान गुरुङले ५ हजार १ रुपैया, देवबहादुर गुरुङ, १ हजार, जितबहादुर गुरुङ २ हजार, पाखुरीकोट तमु समाजले २ हजार, सुवेदार चन्द्रबहादुर मस्राङ्गी मगरले १ हजार ५, रामबहादुर लामाले ५५० रुपैया र अडिटर्स विजय यादवले १० हजार १ रुपैया सहयोग गर्नुभएको छ ।

अनसनमा बस्नु भएका अनसनकारीहरुलाई विहानैदेखि सम्मान गर्दै आन्दोलनको ऐक्यवद्धता जनाउने क्रम जारी भएको छ । पाखुरीकोट तमु समाजका अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङको अगुवाई समाजका सदस्यहरु, तोम्ने पौगीलामा परिवारका अध्यक्ष गमबहादुर गुरुङ, आमा अध्यक्ष जितमाया गुरुङ लगायत विभिन्न महानुभावहरुले अनसनकारीलाई सम्मान गर्नेक्रम रहेको छ ।

पहिचान र अधिकार सहित तमुवानको माग गर्दै प्रतिगामी संविधान पुर्नलेखन तथा शंसोधन गरी आफ्ना २६ बुँदे माग सम्बोधन गर्न आन्दोलित २९ दल तथा मोर्चा आवद्ध संघीय गठबन्धनको शान्तिपूर्ण आन्दोलन अन्र्तगत रिले अनसनलाई ऐक्यवद्धता जाहेर गर्दै मोर्चा अन्तरगतको एक घटक तमुवान संयुक्त संघर्ष समितिले तमुवानको राजधानी पोखरामा अनसन शुरु गरेको हो ।

संविधान पुर्नलेखन गरी पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान, पहिचान र अधिकार सुनिश्चिचता, पुर्ण समानुपातिक प्रतिनीधित्व, भाषिक समानता, सबै खाले विभेद उत्पिडनको अन्त्य, कालाबजारी भ्रष्टचारीलाई कारवाही, भुकम्प पीडितलाई तत्काल राहतको व्यवस्था लगायतको माग गरिएको छ । शान्तिपुर्ण र अधिकारप्राप्तिको आन्दोलनमा साथ सहयोगको समेत तमुवान संयुक्त संघर्ष समितिले अपील गरेको छ भने संघीय गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।





Comments

comments

Leave a Reply

12949