नेपाली खेलाडीलाई अष्ट्रेलियामा स्वर्ण र कास्य पदक

सानु घिमिरे / एचकेनेपाल डट कम –
नेपाली जुडो खेलाडी मोहन बमले अष्ट्रेलियामा स्वर्ण पदक जितेका छन् । अष्ट्रेलियाको जिलोङ शहरमा १० तारिख शुरु भएको चार दिने ४१ औं अष्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा २०१३ देखि अस्ट्रेलियामा बस्दै आएका ने बमले स्वर्ण पदक जितेका हुन् ।

अष्ट्रेलियाको राष्ट्रिय स्तरको टाइटल उनले यो तेश्रो पटक हासिल गरेका हुन । यस अघि उनले २०१४ र २०१५ मा पनि हासिल गरेका थिए । २००४ मा १३ बर्षको उमेरदेखि उनले जुडो खेल शुरु गरेका हुन । उनले नेपाल जुडो च्याम्पियनको उपाधि २०१२ मा हात पारेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।

मोहनले एडमन्ड युएनसँग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो प्रतिस्पर्धा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । उक्त खेलमा रजत पदक बिजेताले र कास्य पदक बिजेताले क्रमश: ७७ र ७४ अंक बटुलेका थिए ।

भिक्टोरियास्थित जिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा अर्का नेपाली खेलाडी खेम भण्डारी थापाले ६० केजी तौलसमूहमा कास्य पदक हासिल गरे । सोमबार सम्पन्न हुने यो खेलमा नेपालीहरुमा यी दुई जना मात्रै सहभागी भएका थिए ।

मोहनले गत बैशाखमा नेपाल जुडो संघ मार्फत १२ औं दक्षिण एसियाली खेलकुद (साग) को जुडोमा स्वर्ण जितेकी फपुल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनीता श्रेष्ठ प्रधानलाई ५–५ हजार नगद पुरस्कार प्रोत्साहन रुवरुप उपलब्ध गराएका थिए ।

मोहन बम, एडमन्ड युएन र खेम भण्डारी थापाको सम्मानमा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले चियापानको आयोजना गरी उहाँहरुले प्राप्त गर्नु भएको सफलताको लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्तै किसिमका सफलता हासिल गर्नका लागि शुभ-कामना दिनु भएको थियो ।





Comments

comments

Leave a Reply

13026