सम्झौताको समयभन्दाअघि नै इटहरी बसपार्क निर्माण

इटहरी । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए ।

वडा नं ६ का अध्यक्षसमेत रहनुभएका प्रवक्ता पोख्रेलका अनुसार २०८० पुस १७ गते निर्माण सुरु गरी २०८२ असार १७ मा सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको श्री अर्थ–हाम्रो–श्रीमान् कम्पनीले तोकिएको समयभन्दाअघि नै निर्माण सम्पन्न गरी भवनसहितका संरचना हस्तान्तरणका लागि समय माग गरेको छ ।

सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उपमहानगरलाई पत्राचार गरिसकेको निर्माण कम्पनीका ठेकेदार अङ्कुर गौतमले बताए । केही दिनमै उपमहानगरलाई भवन हस्तान्तरण गर्ने योजना रहेको गौतमले जनकारी दिए ।

एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा सुविधा सम्पन्न तीनतले टर्मिनल भवन बनेको छ । भवनको भुइँ तलामा एक सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, मिनीमार्ट, सार्वजनिक शौचालय र कन्ट्रोल रुम निर्माण गरिएको उपमहानगरका इञ्जिनियर भविन्द्र चौधरीले जानकारी दिए ।

भवनको पहिलो तलामा व्यावसायिक प्रयोजन गर्न सकिने सात कोठा छन् भने दोस्रो तलामा क्याफेसहितको रेस्टुरेन्ट रहेको इञ्जिनियर चौधरीले जानकारी दिए । बसपार्क रु नौ करोड ४८ लाख ८३ हजार पाँच सय ५६ मा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सो योजना नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो । दुई दशकअघि निर्माण भएको बसपार्क बढ्दो सवारीसाधनको चापसँगै अव्यवस्थित बनको थियो । बसपार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा प्रयोग गर्ने उपमहानगरको योजना रहेको छ ।





Comments

comments

129631