नयाँ दिल्ली । विवाह भएको भोलिपल्टै दुलाहा र दुलहीको भारतको अयोध्यामा रहस्यमय मृत्यु भएको छ। दुलहीको शव कोठाको खाटमा फेला परेको थियो भने दुलाहाको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो।
घटनाको विवरण अनुसार बिहान ७ बजेसम्म पनि दुवै जना नउठेपछि परिवारका सदस्यहरू उनीहरूलाई बिउँझाउन गएका थिए। तर कोठाको ढोका भित्रबाट बन्द थियो। त्यसपछि परिवारका सदस्यहरूले ढोका फोरेर हेर्दा दुवैको शव फेला परेको थियो।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार विवाहको भोलिपल्टै यस्तो दुःखद घटना भएपछि परिवारमा कोहराम मच्चिएको छ। परिवारका सदस्यहरूले तत्काल दुवैलाई अस्पताल लगेका थिए, जहाँ चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरे। घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ र घटनाको अनुसन्धान गरिरहेको छ।
जानकारी अनुसार दुवैको विवाह मार्च ७ मा भएको थियो। शनिबार बेहुली विदाई भएर बेहुलाको घर आएकी थिइन्। आइतबार रिसेप्सनको कार्यक्रम राखिएको थियो र त्यसको तयारी भइरहेको थियो। यो घटना क्यान्टको सहादतगंज मुरावन टोलाको हो।
प्रहरीका अनुसार विवाहको भोलिपल्टै बेहुला र बेहुलीको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ। दुवैको शव घरको एउटा कोठाबाट बरामद गरिएको छ। घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानपछि मात्र थप कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।