काठमाडौं। नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा बसेर राज्यसँग गरिएको सम्झौता भंग गरेको आरोप लगाए।
भट्टराईले पूर्वराजाले लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको गम्भीर आरोप लगाए। उनले भने, “उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको थियो। तर उहाँले त्यो सम्झौता निर्मल निवासमा बसेरै भंग गर्नुभयो।”
भट्टराईले अब पूर्वराजालाई राज्यले दिँदै आएको सेवासुविधा पुनर्विचार गर्नुपर्ने माग गरेका छन्। उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग यस विषयमा स्पष्ट धारणा माग गरेका छन्।