नाम नेपाल धनकुटामा पनि

नेपाली रंगकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघ (नाम) नेपालको जिल्ला च्याप्टर विस्तार गर्ने क्रममा धनकुटामा पनि च्याप्टर गठन भएको छ । जिल्लाका नाट्यकर्मीहरुको भेलाले कलाकार मुकुन्द प्रयासको संयोजकत्वमा १६ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको सचिवमा सरोज भुजेल तथा सदस्यहरुमा रमेशचन्द्र अधिकारी, दीपेन्द्र काºले, जोगमाया लुम्बा, के.जी. सुब्बा, सूर्य वालिङ, हेमचन्द्र पौडेल, नवराज घिमिरे, बलराम दाहाल, नरेन्द्र राई, झमक खनाल, खड्गबहादुर भट्टराई, पोषण घिमिरे, सुरेन्द्र मग्राती, विपेन याख्खा रहेका छन् ।

त्यसअघि भेलाले महासंघको औचित्यको बारेमा छलफल पनि गरेको थियो । सुनसरी च्याप्टरका निवर्तमान अध्यक्ष विशाल भण्डारीको विशेष उपस्थितिमा भएको कार्यक्रममा उनले महासंघको आवश्यकता र आगामी योजनाको बारेमा प्रकाश पारेका थिए । देशमा अन्य पेशाकर्मीहरुको संगठन भएको भएतापनि संसारकै पुरानो पेशाको रुपमा रहेको नाट्यकर्मीहरुको भने संगठन नभएको सन्दर्भमा देशभरिका नाट्यकर्मीहरुको हक हीतको पैरवी गर्न महासंघको आवश्यकता रहेको भण्डारीले प्रष्ट पारे ।

विगतदेखि वर्तमानसम्मको नाट्य गतिविधिहरुको अभिलेखीकरण हुन नसकेको तथा राज्यले यो क्षेत्रलाई समुचित बजेट विनियोजन गर्ने नगरेकोले महासंघको आवश्यकता रहेको उनले जनाए । उनका अनुसार महासंघले कलाकारहरुको बीमा गर्ने, प्रोफाईल प्रकाशन गर्ने योजना रहेको छ । सरकारी सांस्कृतिक निकाय, स्थानीय निकाय तथा एनजिओ हरुको खबरदारी गर्नु पर्ने आवश्यकता रहेको भण्डारीले बताए ।

महासंघको शाखा विस्तार गर्ने क्रममा गएको साता उदयपुरमा पनि राजु सुन्दासको संयोजकत्वमा च्याप्टर गठन भएको थियो । अब चाँडै बाँकी जिल्लाहरुमा पनि गठन गर्दै जाने बताईएको छ ।





Comments

comments

Leave a Reply

13021