काठमाडौँ । नेपाली साहित्य र संगीत क्षेत्रका चर्चित व्यक्तित्व, वरिष्ठ सर्जक, संगीतकार तथा साहित्यकार गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग लड्दै आएका रसिकको आइतबार ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
भोजपुरको टेम्केमैयुङको छिनामखुको नौलागाँउमा वि.सं. २००४ साल असोज ४ गते जन्मिएका रसिकले नेपाली साहित्य र संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन् । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बेलायतमा रहेकी छोरी नेपाल आइपुगेपछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।
रसिकले गीत-संगीतको क्षेत्रमा मात्र नभई नेपाली साहित्यको विभिन्न विधामा समेत महत्वपूर्ण योगदान दिएका छन् । उनका प्रमुख कृतिहरूमा ‘क्षितिजलाई छुन खोज्दा’, ‘एउटा सारंगी छुन खोज्दा’, ‘रसिकका गीतहरू’, ‘आकाशगंगाको ओतमुनि’, ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’ लगायत दर्जनौं पुस्तकहरू प्रकाशित छन्।
उनले रत्न रेकर्डिङ संस्थान, सांस्कृतिक संस्थान, साझा प्रकाशन र नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा विभिन्न उच्च पदहरूमा रहेर सेवा गरेका थिए । विसं २०७८ मा उनकी धर्मपत्नी निरा शेरचनको निधन भएको थियो।
क्यान्सरको उपचारका लागि भारतसमेत गएका रसिक, रोग अन्तिम चरणमा पुगेपछि स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उनको स्वास्थ्यमा केही सुधार देखिए पनि अन्ततः यो कठिन रोगसँग लड्न सकेनन्।
उनको निधनले नेपाली साहित्य र संगीत क्षेत्रमा अपूरणीय क्षति भएको कलाकारहरूले बताएका छन् । रसिकको निधनप्रति विभिन्न साहित्यिक तथा सांगीतिक संस्थाहरूले दुःख व्यक्त गरेका छन्।