रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पहिलो पटक जितेर ऐतिहासिक उपलब्धि हात पारेको छ। जर्मनीको म्युनिखस्थित एलियान्ज रंगशालामा सम्पन्न फाइनल खेलमा पिएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो।
खेलको १२ औं मिनेटमै पिएसजीका डिफेन्डर अक्राफ हाकिमीले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले सन् २०२१ देखि क्लबमा खेले खेल्दै आइरहेका छन्। त्यसपछि १९ औं मिनेटमा १९ वर्षीय किशोर देजिरे डोउएले अर्को गोल थपको थिए । उनी च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने।
खेलको उत्तरार्धमा ख्विचा ख्वारात्सखेलिया र प्रतिस्थापन खेलाडी सेनी मायुलुले थप दुई गोल गर्दै इन्टर मिलानलाई दबाबमा राखीरहे र अन्तिम गोलले पिएसजीको शानदार जित सुनिश्चित ग¥यो।
यस जितसँगै पिएसजीले यस सिजन ’ट्रिपल क्राउन’ — लिग १, कुप डे फ्रान्स र च्याम्पियन्स लिगको उपाधि जित्ने दुर्लभ कीर्तिमान पनि कायम गरेको छ।
फाइनलको यो जित च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा ठूलो फाइनल जितमध्ये एक हो। प्रशिक्षक लुइस एनरिकेको युवा–केन्द्रित रणनीतिले क्लबमा नयाँ ऊर्जा भरेको प्रष्ट देखिन्छ। खेलभरि फुटबलप्रेमीहरु उत्साहित देखिन्थे, विशेष गरी खेलको अन्तिम मिनेटसम्म रोमाञ्चकता कायमै थियो।
पिएसजी अब केवल स्टार खेलाडीहरूको क्लब होइन, युवा प्रतिभा र टिमवर्कमा आधारित क्लबको रूपमा परिचित हुँदै गएको देखिन्छ। यो उपाधिले क्लबको नयाँ युगको सुरुवात संकेत गर्छ। संसारभरका फुटबल समर्थकका लागि पनि यो सिजन अविस्मरणीय बन्यो, किनभने यो पियसजीका लागि सपना साकार भएको क्षण हो।