‘नक्कली प्रचण्ड’ घनश्याम गौतमको निधन

काठमाडौं । लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको आन्द्राको क्यान्सरबाट ४५ वर्षको उमेरमा निधन भएको छ । ‘नक्कली प्रचण्ड’ को रूपमा चिनिने गौतमको मंगलबार राति १२:१० बजे भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारकै क्रममा निधन भएको हो।

विगत दुई वर्षदेखि क्यान्सरसँग लड्दै आएका गौतमले नेपाली हास्य क्षेत्रमा आफ्नो अमिट छाप छोडेका छन् । उनको मृत्युले नेपाली कला जगतमा अपूरणीय क्षति भएको कलाकारहरूले बताएका छन्।

गौतमले आफ्नो जीवनकालमा विभिन्न टेलिभिजन कार्यक्रम, गाईजात्रा र स्टेज शोमार्फत दर्शकहरूलाई हँसाउने काम गरेका थिए । उनको विशेष पहिचान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक अभिनयबाट बनेको थियो।

दुई वर्षअघि पेट क्यान्सरको पुष्टि भएपछि उनले भक्तपुर क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीमा समेत उपचार गराएका थिए । केही समय स्वास्थ्यमा सुधार देखिए पनि गत डेढ महिनादेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।

कलाकार गौतमको पार्थिव शरीरलाई आज बिहान ८:३० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ। उनको निधनप्रति विभिन्न कलाकार, राजनीतिक नेता तथा सर्वसाधारणले समाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।





Comments

comments

131487