नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेपालीभाषी समुदायले यहाँका स्थानीय र अमेरिकामा जन्मेहुर्केका आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृतिको पहिचान गराउन आयोजना गरिएको “नेपाल डे परेड” सम्पन्न भएको छ।
कोलोराडोमा नेपाली भाषी समुदायबीच सक्रिय रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना तथा यहाँ स्थित सबै संघसंस्थाहरूको सहभागितामा “नेपाल डे परेड” आयोजना गरिएको हो।
आइतबार अपरान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालित परेड कार्यक्रममा नेपाली भाषी समुदायका अभिभावक नारायण श्रेष्ठ, कोलोराडोमा सक्रिय विभिन्न संघसंस्थाका पदाधिकारी, गण्यमान्य, बुद्धिजीवी, नेपाली बाआमा, दाजुभाइ दिदीबहिनीको उपस्थिति रहेको थियो।
यहाँका स्थानीय र अमेरिकामा जन्मेहुर्केका आफ्ना बालबालिकाहरुलाई नेपाल र नेपालीको भाषा, कला, संस्कृतिको पहिचान गराउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरुले आ-आफ्नो संस्कृति झल्कने भेषभूषामा सहभागी भएका थिए। नेवाः खलः कोलोराडो धिमेबाजा र ब्यानरसहित अन्य केही संघसंस्थाहरू पनि ब्यानरसहित कार्यक्रममा सहभागी भएका थिए।
बोल्डर शहरस्थित बोल्डर लाइब्रेरीको प्राङ्गणमा जम्मा भई शहर परिक्रमा गर्नुअघि रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव तेजप्रसाद ढकालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने हेल्पिङ ह्यान्ड्सका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले कार्यक्रमको इतिहास कोट्याउँदै यसको महत्वबारे प्रकाश पारी आजको परेड शुरु गरेका थिए। सहभागीहरु धिमेबाजाको तालमा शहर परिक्रमा पछि सोही स्थानमा भेला भएका थिए।
परेड कार्यक्रम हरेक वर्ष भौगोलिक स्थितिले काठमाडौं उपत्यकासँग मिल्दोजुल्दो सुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ। केही वर्षअगाडिदेखि अमेरिकाको विभिन्न स्टेटमा नेपाली परेड आयोजना हुन थालेको छ। कोलोराडोको परेड भने यहाँ स्थित बोल्डर सिटी एन्ड काउन्टीको कार्यालयले सन् २००४ देखि नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा पहिचानको लागि हरेक वर्ष नेपालीहरुको “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो।
अमेरिकामा रहेका पचास राज्य मध्ये कोलोराडो यस्तो किसिमको कार्यक्रम गर्ने पहिलो राज्य हो। नेपालीहरूको दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो सूचीकृत कार्यक्रम हो। कोलोराडोमा नेपालीहरूको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचान गराउने उद्देश्य लिई हेल्पिङ ह्यान्ड्सका अध्यक्ष नारायण श्रेष्ठको सक्रियतामा यो कार्यक्रम सुरु गरिएको थियो।
गतवर्षसम्म अप्रिल महिनाको तेस्रो आइतबार नेपालीहरूको नयाँ वर्षको अवसर पारेर गरिँदै आएको नेपाल डे परेड यसवर्ष जुन १ तारिखमा गरिएको हो।
कार्यक्रमको अन्तमा आयोजक संस्थाको उपाध्यक्ष हरिबहादुर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै यसवर्षको परेड सकिएको घोषणा गरेका थिए।