काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत ओलीले दाहालको प्रश्नको जवाफ दिँदै बनिरहेको कामको प्रगति स्वयं हेर्न आउन आग्रह गरेका हुन्।
दाहालले प्रतिनिधिसभामा ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रश्न उठाएका थिए। आफ्नो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरेको उल्लेख गर्दै दाहालले ३ सय ६५ दिन बितिसक्दासमेत उक्त घोषणा कार्यान्वयनमा नआएको आरोप लगाएका थिए।
यसको जवाफमा प्रधानमन्त्री ओलीले लेखे, “पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।”
ओलीले दाहाललाई थप सुझाउँदै भनेका छन्, “तपाईंले प्रधानमन्त्रीको रुपमा कुनै टाइमलाइन तोक्नुभएन। तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें।”
दुई नेताबीचको यो वाकयुद्धले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ। विकास निर्माणका वाचाहरू पूरा हुने समयमा प्रश्न उठाउँदै प्रचण्डले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। तर ओलीले भने कीर्तिपुरमा कामको प्रगति भइरहेको र त्यसको प्रत्यक्ष अवलोकन गर्न आउन आग्रह गरेका छन्।