निसीखोलामा अझै जीवितै छ ‘थाम राम’ संस्कृति

बागलुङ । ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यति बेला यो संस्कृतिले रौनक छाएको छ ।

विशेष गरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ । हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरू साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउने गर्छन् । भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनीतन्नेरीलाई लेकबाट लिएको फूल लगाइदिने, नाचगान गर्ने र हात समातेर दौडिने गर्छन् । हात समाएर दौडिने संस्कृतिलाई स्थानीयले थाम खेल्ने भन्छन् ।

थाम खेल्नेमा युवायुवतीदेखि बूढाबूढीसम्म सहभागी हुन्छन् । यो संस्कृतिलाई नयाँ पुस्ताले पनि चासो दिएका छन् । यसरी थाम खेल्दा देवीदेवता खुसी हुने धार्मिक मान्यता छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरका अनुसार पहिले पहिले थाम खेल्ने जोडीले माया प्रेम गर्ने र विवाह गर्ने गर्थे । तर पछिल्लो समय त्यो चलन भने कम भएको छ । थाम राम युवायुवतीको जमघट हुने माध्यसमेत रहेको अध्यक्ष घर्ती मगरले बताए ।

“थाम राम यो क्षेत्रको ऐतिहासिक संस्कृति हो, यसमा मगर समुदायको पहिचान जोडिएको छ, लेकमा फूल टिप्न जाँदा देउरालीमा ध्वजा बाँध्ने, फूल चढाउने र पूजा गर्ने गरिन्छ, यसरी फूल चढाउँदा पितृ खुसी हुने जनविश्वास छ”, अध्यक्ष घर्ती मगरले भने, “लेकमा फूल टिप्ने र थाम खेल्ने चलन त धेरै पहिलादेखि मनाइँदै आएको छ, हामीहरू पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।”

यो संस्कृति द्वन्द्वकालमा हटेको थियो । विसं २०५७ देखि रोकिएको संस्कृति स्थानीयले गत वर्षदेखि पुनः मनाउन थालेका छन् । स्थानीय ६८ वर्षीय नैनसिंह बुढामगरले यो संस्कृति कहिलेदेखि मान्न सुरु भएको भन्ने यकिन नभए पनि बुढापाकाले भनेअनुसार बाइसेचौबीसे राजाका पालादेखि सुरु भएको हुनसक्ने बताए । थाम रामले वर्षौँदेखि टाढिएका प्रेमी प्रेमिका, आफन्त जमघटको अवसर जुटाउने उनको भनाइ छ ।

बुढामगरले भने, “थाम राम पुरानो संस्कृति हो, यस बेला फूल टिप्ने, तरुनी तन्नेरीलाई लगाइदिने, नाचगान गर्ने र मनका वेदना पोख्ने गरिन्छ, पहिले पहिले अहिलेको जस्तो फोनको जमान थिएन, तरुनीतन्नेरी भटे हुनका लागि कुनै मेला महोत्सव हुनुपर्थ्यो, त्यसका लागि स्थानीयले लेकमा गएर फूल टिप्ने र थाम खेल्ने एउटा समय तोके सोहीअनुसार अहिले चल्दै आएको भन्ने लाग्छ, त्योसँगै धार्मिक आस्थासँग पनि यसको महत्त्व जोडिएको छ ।”

यहाँको रिग युवा क्लबले थाम राम संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । युवालाई एकीकृत गर्ने र पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास गरिएको छ । युवालाई बुढापाकासँगै राखेर सिकाउने कार्य गरेको क्लबका अध्यक्ष भुवनसिंह घर्ती मगरले जानकारी दिए। युवाले चासो नदिए संस्कृति नै लोप हुने उनको भनाइ छ । रासस





Comments

comments

132111