न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० जुलाई। हङकङ अब्जरभेटरीले बिहान ७:२० बजे तीव्र आँधी वा स्टर्म सिग्नल, नं. ९ जारी गरेको छ। यसको अर्थ टाइफुन विफा हङकङ नजिकै आइपुग्दै गर्दा हावाको गति उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। मौसम विभागले स्थानीय हावाको अवस्थाको आधारमा हरिकेन सिग्नल नम्बर १०, मा अपग्रेड गर्ने सम्भावना रहेको जनाएको छ।
बिहान ७:०० बजे, टाइफुन विफा हङकङको दक्षिण-पूर्वमा लगभग ११० किलोमिटर (२१.७ डिग्री उत्तर ११५.० डिग्री पूर्व नजिक) केन्द्रित थियो र यो पश्चिम वा पश्चिम-उत्तरपश्चिम दिशातिर लगभग २५ किलोमिटर प्रति घण्टाको गतिमा पर्ल रिभर एस्चुअरीको नजिकै पुग्ने अनुमान छ।
विफा नजिकै आउँदै गर्दा स्थानीय हावा अझै शक्तिशाली हुने अपेक्षा गरिएको छ। स्थानीय रूपमा, तटीय क्षेत्रमा तीव्र आँधी र उच्च भूमिमा कहिलेकाँही आँधीबेहरी चलिरहेको छ। विफासँग सम्बन्धित भारी वर्षा हङकङमा पनि प्रभाव पारिरहेको छ।
हङकङ अब्जरभेटरीले आम नागरिकलाई सुरक्षित रहन, तटीय क्षेत्रहरूबाट टाढा रहन र जलक्रीडामा संलग्न नहुन सल्लाह दिएका छन्।
आँधीबाट बच्न लागि सुरक्षाका उपायहरूको पालना गर्न र सुरक्षित स्थानमा बस्न सबैलाई सुझाव दिइएको छ। टाईफून सिग्नल नम्बर ९ का कारण स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस र रेल सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्।


