पोखरामा खुला पर्वतीय दौड हुने..

कास्की । पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा खेलका माध्यमबाट खेल पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो । पोखरा–२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुने आयोजक पोखरा क्लिकका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।

उनका अनुसार आठ किमी पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यु–१६, पर्यटन तथा ४० वर्ष माथिका भेट्रान तर्फको प्रोत्साहन गरी छ वटा ‘इभेन्ट’ समावेश गरिने छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० प्राप्त गर्नेछन् । द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थानसम्मलाई क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार वितरण गरिने अध्यक्ष बरालले जानकारी दिए।

वडास्तरीय, खुला महिला र यु–१६ तर्फका विजेतालाई जनही रु १५ हजार र उपविजेतालाई जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने उनले बताए । उनका अनुसार प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने बरालले बताए।

प्रतियोगिताका लागि अनलाइन आवेदन दर्ता खुला गरिएको प्रतियोगिता निर्देशक ओम लामाले जानकारी दिए । उनका अनुसार यही भदौ २५ गतेसम्म धावकले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले दौड प्रतियोगितालाई वडाले आफ्नो चाडका रूपमा लिएको बताउँदै आगामी दिनमा विस्तार गरेर ‘हाफ म्याराथन’सम्म लैजाने योजना रहेको जानकारी दिए।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले विश्व पर्यटन दिवसका अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावकहरू बढीभन्दा सहभागी गराउन पहल गर्ने बताए । विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङले दौडको सुरुआत शान्ति स्तूपबाट हुने भएकाले आवश्यक व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए। रासस





Comments

comments

132618